बुधबार, वैशाख १२, २०८१

पूर्व प्रहरीकै घरमा नक्कली नोटको कारखाना

नेपालखोज २०७६ कार्तिक ४ गते १५:१०

काठमाडौं । प्रहरीले सोमबार काठमाडौंको गोकर्णेश्वर नगरपालिकास्थित नयाँबस्तीबाट नक्कली रुपैयाँ छाप्ने तीन जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीले उनीहरूको साथबाट एक हजारको ३४ वटा नक्कली नोट, नोट बनाउन तयार पारिएको करिब २ सय ९० वटा कागज, रंगीन फोटोकपी मेसिनसहित अन्य सामाग्री बरामद गरेको छ।

पक्राउ पर्नेमा दोलखा मेलुङ गाउँपालिकाका राजन परियार, सन्तोष नेपाली र महेन्द्र नेपाली रहेका छन् । उनीहरुले विपुल चोकनजिकै रहेको रोशन दवाडीको घरको कोठा भाडामा लिई नक्कली नोटको कारोबार गरेको खुलेको हो। दवाडी नेपाल प्रहरीका पूर्व इन्स्पेक्टरको भएको खुलेको छ। ७ महिना अगाडि उनीहरुले घर भाडामा लिएका थिए। भाडामा लिएपछि उनीहरुले नोट छाप्न प्रयोग गरिने सामाग्री खरिद गरेर ल्याएको र नक्कली नोट छाप्ने काम शुरु गरेको देखिएको छ ।

उनीहरुको गतिविधि शंकास्पद भएपछि घरधनीले प्रहरीलाई सूचना दिएका थिए। नेपाल प्रहरीको विशेष व्युरो र महानगरीय प्रहरी वृत्तले गोप्यरुपमा अप्रेसन शरू गरेको थियो ।

उनीहरुले नक्कली नोट दशैं अघि नै बजारमा लगिसकेको अनुसन्धानको क्रममा खुलेको छ । धेरै जसो नोट उनीहरूले रिचार्ज कार्ड खरिद गर्न प्रयोग गर्ने गरेको भेटिएको छ । १ हजार रूपैयाँ दिएर उनीहरूले १ सयको रिचार्ज खरिद गर्ने गरेको पाइएको छ ।

प्रहरीले मुलुकी ऐनको महल ६ मा रहेको खोटा चलन अनुसारको कसुरमा अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँबाट म्याद थप गरि उनीहरुविरुद्ध अनुसन्धान गर्छ। अदालतमा दोषी प्रमाणित भए उनीहरुलाई ऐनअनुसार बिगो बमोजिमको जरिवानासहित बढीमा १० वर्षसम्म जेल सजाय हुनसक्छ।

प्रतिक्रिया