मंगलबार, जेठ १, २०८१

विप्लव समूहका सर्लाही जिल्ला इन्चार्ज पौडेलको इन्काउन्टर ‘फेक’ भएको मानवअधिकार आयोगको ठहर

नेपालखोज २०७६ कार्तिक ५ गते ६:४२

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगको स्थलगत अनुसन्धानबाट विप्लव नेतृत्वको नेकपा सर्लाहीका जिल्ला इन्चार्ज कुमार पौडेलको प्रहरी नियन्त्रणमा लिएर हत्या गरिएको निश्कर्ष निकालेको छ। आयोगले उक्त घटनामा प्रहरीलाई निर्देशन दिने पदाधिकारी उपर कानुनी कारवाहीका लागि सरकारलाई निर्देशनसमेत दिएको हो। पौडेलको बाँच्न पाउने न्यूनतम् अधिकारको हनन् भएको आयोग ठहर छ। पौडेल गत असार ४ गते मारिएका थिए। प्रहरी ‘इन्काउण्टर’ मा मारिएको दाबी सुरक्षा निकायको थियो।

प्रहरी प्रधान कार्यालयको प्रत्यक्ष निर्देशनमा दुई नम्वर प्रदेश प्रहरी कार्यालयको समन्वयमा परिचालित प्रहरीले पौडेललाई नियन्त्रणमा लिए पश्चात अनावश्यक रुपमा बल प्रयोग गरी गोली हानेको आयोगले जनाएको छ।

आयोगको स्थलगत अनुसन्धानबाट पौडेललाई ९ गोली हानी मारिएको र दोहोरो भीडन्त वा आत्मरक्षाको अवस्था कतैबाट पुष्टि नभएको प्रतिवेदनमा उल्लेख छ। प्रहरीले भने आत्मरक्षा र दोहोरो भीडन्तमा पौडेल मारिएको दाबी गर्दै आएको थियो। ‘घटनाको प्रकृति, संकलित प्रमाण समेतबाट निजलाई नियन्त्रणमा लिई मारिएको आयोगको अनुसन्धानबाट देखियो। प्रहरीबाट घटनाको निष्पक्ष अनुसन्धान नभएको,’ प्रतिवेदन ठहर छ। यो समाचार आजको अन्नपूर्ण पोष्टमा छ ।

प्रतिक्रिया