मंगलबार, चैत ६, २०८०

जापानका नयाँ राजाको भव्य रुपमा राजगद्दी आरोहण

नेपालखोज २०७६ कार्तिक ५ गते १७:२५

४ कात्तिक, टोकियो । जापानी सम्राट नारूहितोले जापानी उच्च धार्मिक विधिपूर्वक मङ्गलबार विहान ९ बजे औपचारिकरूपमा राजगद्दि आरोहण गरेका छन्।

जापानको प्राचीनकालीन शैलीमा राजधानी टोकियोस्थित राजदरबारको सेइडेन स्टेट हलमा राज्याभिषेक समारोहको आयोजना भएको हो ।

विश्वभरबाट निम्त्याइएका करिब दुई हजार अतिथिको अगाडि पूर्व सम्राट तथा आफ्ना पिता अकिहितोको उपस्थितिमा ५९ वर्षीय नारुहितोको राज्य आरोहण भएको हो ।

सम्राट अकिहितोले राजगद्दी परित्याग गरेपछि नारुहितो यसै बर्ष मे महिनामा जापानको सम्राट बनेका थिए । विभिन्न परम्परागत विधि सम्पन्न भएपछि मात्रै नारूहितोको औपचारिक राजगद्दी आरोहण भएको हो ।

जापानी सम्राटले विशेष अवसरमा लगाउने परम्परागत वस्त्र धारण गरेर नारुहितो साढे छ मिटर अग्लो ताकामिकुरा (राजगद्दी)मा बसेका थिए । त्यहाँबाट उनले एउटा लिखित मन्तव्य वाचन गरे ।

“राष्ट्र र जनताको एकताको प्रतीकका रूपमा आफ्नो उत्तरदायित्व वहन गर्न म संविधानअनुसार काम गर्ने शपथ लिएको छु ।”

सम्राट अकिहितोले आफ्नो ३० बर्ष राजगद्दिमा रहँदा सँधै जापानी जनता र विश्व शान्तिका लागि प्रार्थना गरेको बताए । सम्राट अकिहितोले जनताको दुःख तथा सुखमा सधैँ सँग रहने गरेको भन्दै अकिहितोको प्रसंशा गरे।

सम्राट नारूहितोले सम्वोधनमा भने, “यस अवसरमा मैले जापानी संविधानअनुसार राज्यको प्रतीक र जापानी जनताको एकताका लागि मेरो जिम्मेवारीलाई पूरा गर्ने सपथ खान्छु ।”

उनले भने, “जनताको खुसी र विश्वमा शान्तिका लागि सधैँ प्रार्थना गर्दै जापानी जनताको विचारप्रति वफादार रहेर उनीहरूको पक्षमा काम गर्ने अठोट प्रकटसमेत यस शुभ–अवसरमा गर्न चाहन्छु ।”उनले सम्वोधनको अन्त्यमा समस्त मानवजातीको शान्ति र समृद्धिको प्रार्थनासमेत गरेका थिए ।

सो अवसरमा उनकी पत्नी साम्राज्ञी मासाको जापानी परम्परागत पहिरनमा सम्राटसँगै रहेको अर्को आसनमा बसेकी थिईन । उनले लगाएको उक्त वस्त्रमा १२ पत्र रहने जापानी अधिकारीहरूलाई उद्धृत गरी सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

जापानी प्रधानमन्त्री सिन्जो आवेले सम्राट नारूहितोको राज्य आरोहणप्रति खुशी व्यक्त गरेका थिए भनेसम्राटको दिर्घायूका लागि समारोहका सहभागी सवैले प्रार्थना गरेका थिए ।

प्रधानमन्त्री शिन्जो आबेले समारोहमा सम्राटलाई बधाई ज्ञापनसमेत गरेका थिए ।

संवैधानिक राजतन्त्र रहेको जापानमा सम्राटको भूमिका प्रायः आलङ्कारिक रहन्छ । उनले नागरिकहरूसँग अन्तक्रिया गर्ने तथा विदेशी पाहुनासँग भेट गर्ने गर्दछन् ।

प्रतिक्रिया