शुक्रबार, चैत १६, २०८०

नक्कली मान्छे खडा गरी त्रिविको २५ लाख झ्वाम

नेपालखोज २०७६ कार्तिक ९ गते १५:५१

९ कार्तिक, काठमाडौं । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुले परीक्षार्थीहरूको उत्तरपुस्तिका परीक्षण गराउँदा अनियमितता गर्ने गरेको तथ्य खुलेको छ । सो कार्यालयले नक्कली मान्छे खडा गरी उत्तरपुस्तिका परीक्षण गराउँदै आएको त्रिभुवन विश्वविद्यालय सम्बद्ध कर्मचारी स्रोतको भनाइ छ ।

यसबाट झन्डै २५ लाख रुपैयाँ अनियमितता भएको पाइएको स्रोतको दाबी छ । यस्तो प्रकारको हिनामिना र अनियमित कार्यमा लेखा प्रमुख र लेखा शाखाको संलग्नता रहने गरेको बुझिएको छ ।

उत्तर पुस्तिकाको नक्कली जाँचकी खडा गरेर परीक्षा नियन्त्रण कार्यालय, बल्खुका परीक्षा नियन्त्रकलगायत गोप्य शाखाका कर्मचारीहरूको मिलेमतोमा त्यसबापतको भुक्तानी कुम्ल्याउँदै आएको बताइन्छ ।

यस सम्बन्धमा त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुका परीक्षा नियन्त्रक पुष्पराज जोशीसँग सम्पर्क गरी वास्तविकता बुझ्न खोज्दा उनले यस विषयमा आफूलाई थाहा नभएको बताए ।

उनले आफू उपत्यका बाहिर रहेकाले केही भएको छ भने म बुझ्छु,” भन्दै तर्किएका छन् । विषयवस्तुं सुनेर प्रतिक्रिया दिनका लागि आनीकानीको शैलीमा प्रस्तुत भएका उनले अन्ततः उत्तर पुस्तिका परीक्षण दौरानमा अनियमित तरिकाले नक्कली जाँचकी खडा गर्ने र त्यसबापत भुक्तानी दिनुपर्ने रकम हिनामिना हुने गरेको तथ्यलाई आश्चर्यजनक रुपमा अस्वीकार गरेका छन् ।

स्रोत भन्छ, लामो समयदेखि यस्तो धन्दा चलेकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नै सत्यतथ्य छानविन गर्नुपर्ने माग गरेका छन् । बल्खुस्थित त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयको कर्मचारी स्रोतका अनुसार परीक्षकबाट उत्तरपुस्तिका प्राप्त भइसकेपछि लेखा शाखाले भुक्तानीका लागि पारिश्रमिकको बिल–भौचर बनाई परीक्षा उपनियन्त्रक कहाँ भुक्तानी स्वीकृतिका लागि पेश गर्नुपर्ने हुन्छ ।

तर, लेखा शाखाले आफ्नो बदमासी ढाकछोप गर्ने नियतका साथ आवश्यक प्रक्रिया नै पूरा नगरी परीक्षा उपनियन्त्रकको स्वीकृतिबिना नै नक्कली बिल–भौचर खडा गरी भुक्तानी दिएकोबाट समेत अनियमितता हुने गरेको स्रोतको भनाइ छ ।

प्रतिक्रिया