यमपञ्चकको दोस्रो दिन बिहान कुकुर पूजा र साँझ लक्ष्मीको पूजा गरिँदै
१० कार्तिक, काठमाडाैं । आज कुकुरको पूजा गरेर कुकुर तिहार मनाइँदैछ । यो पटक चर्तुदशी तिथि बिहान र दिउँसोदेखि औसी छुने भएकाले साँझ लक्ष्मीको पूजा र बिहान कुकुर तिहार मनाइँदैछ । सबै नेपालीका घर आगनमा कुकुरलाई टीका तथा माला लगाइदिएर मीठा मीठा खानेकुरा खान दिई पूजा गरि मनाईँदैछ ।
आजका दिन कुकुरको पूजा गर्ने प्रचलन चलिअाएको छ । आज कुकुरको पूजा नगरी खाना खाएमा पापी भइन्छ भन्ने विश्वास छ ।
त्यसैगरी आज धनधान्यकी देवी लक्ष्मीको पूजा आरधना गरी लक्ष्मी पूजा पनि मनाईंदै छ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफा, सुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ ।
आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, संघारलगायतका स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ । लक्ष्मीपूजा गरिने कार्तिक कृष्ण औंसीको रातलाई सुखरात्रि पनि भनिन्छ । लक्ष्मीपूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने पूजाकोठासम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरेर चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाइ लक्ष्मी आउने बाटो देखाइन्छ ।
आज साँझ महिलाले समूह बनाइ घरघरमा भैलो खेल्छन् । भगवान् विष्णुले यमपञ्चकको पाँच दिन स्वर्ग, मत्र्य र पाताल तीनै लोकको शासन गर्ने वरदान पाएका बलिराजालाई भलो होस् भनी घरघरमा गाउन लगाएको सम्झनामा भैलो खेल्ने गरिएको हो । आज भैलो खेल्न आउनेलाई धान, चामल, फूलमाला, पैसा र सेलरोटी दिइन्छ ।
भैलो खेल्न आउनेलाई दिइने दान कात्तिकको दान भएकाले नदिएमा नराम्रो हुने र दिएमा पुण्य प्राप्त हुने विश्वास छ ।
प्रतिक्रिया