शनिबार, वैशाख ८, २०८१

कसले मार्ला बाजी : सभामुख पदका लागि नेम्वाङ र गुरुङको चर्चा

नेपालखोज २०७६ कार्तिक १३ गते १३:१९

कात्तिक १३, काठमाडौं । असंवैधानिक हिसाबले बहुमतको दम्भमा एउटै पार्टीबाट सभामुख र उपसभामुख बन्न नपाउने व्यवस्था भए पनि नेकपाबाट कृष्णबहादुर महरा सभामुख र शिवमाया तुम्बाहाम्फे उपसभामुखमा निर्वाचित भएका थिए ।

पूर्वमाओवादी केन्द्रबाट महरा सभामुख र एमालेबाट तुम्बाहाम्फे उपसभामुख बनेको अवस्थामा २०७४ जेठ ३ गते दुई पार्टी एकीकरण भएर नेकपा गठन भएपछि सभामुख र उपसभामुख एउटै पार्टीबाट कायम रहेको अवस्था थियो ।

यौन दूर्व्यहार प्रकरणमा कृष्णबहादुर महराले सभामुख पदबाट राजीनामा गरेपछि अब एउटै पार्टीबाट सभामुख र उपसभामुख नरहने जानकारहरुले बताएका छन् ।

हाल नयाँ सभामुखका लागि पार्टी एकीकरण भए पनि एमालेबाट पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ तथा माओवादी केन्द्रबाट देव गुरुङ, अग्नि सापकोटा र पूर्वसभामुख ओनसरी घर्तीको चर्चा चलेको छ ।

नेकपामा नेम्वाङ प्रधानमन्त्री ओलीका विश्वासपात्र मानिन्छन् भने गुरुङ र सापकोटा अध्यक्ष पुष्पकमल दाहाल निकट मानिन्छन् ।

पार्टीभित्रको शक्ति बाँडफाँडका हिसाबले तत्कालीन माओवादी केन्द्रले सभामुख पाए गुरुङ बलिया दावेदार मानिएका छन् भने एमालेले पाए नेम्वाङको विकल्प नरहेको जानकारहरुले बताएका छन् ।

यस्तो अवस्थामा उपसभामुख संघीय समाजवादी पार्टीले पाउने सम्भावना रहेको चर्चा चलेको छ । तथापि सभामुखका लागि नेकपाभित्रै मारामार सुरु भएको समाचार स्रोतले जानकारी दिएको छ ।

गौतमको उपाध्यक्ष पद कुरा मात्रै

करिब साँढे दुई महिना अगाडि ३१ गते श्रावण बसेको नेकपा सचिवालय बैठकले सचिवालय सदस्य वामदेव गौतमलाई उपाध्यक्ष र वरिष्ठ नेता माधवकुमार नेपाललाई एक तह तल घटुवा गर्ने प्रस्ताव नेकपा अध्यक्ष केपी ओलीले गरेका थिए ।

गत २०७४ सालको प्रतिनिधिसभाको निर्वाचनमा बर्दियाबाट पराजय भएका गौतमले आपूmलाई हराउन ओली लागेको आरोप लगाउँदै टाढिन पुगेका थिए ।

पार्टीको उपाध्यक्ष पदमा सचिवालयबाट सर्वसम्मत अनुमोदन भएका गौतमलाई ओलीपछि शक्तिशाली बनेको चर्चा चलेको थियो । गौतम उपाध्यक्षबाहेक संगठन विभाग प्रमुख पनि छन् । उता गौतमलाई विधानविपरीत उपाध्यक्षमा प्रसताव गरेपछि नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठको असहमति प्रकट भएको छ ।

दुई अध्यक्षपछिको प्रभावशाली भूमिकामा रहेका गौतम उपाध्यक्षको प्रस्ताव कार्यान्वयन नभएपछि नेतृत्वले उपेक्षा गरेको भन्दै असन्तुष्टि व्यक्त गर्न थालेको स्रोतले बताएको छ ।

कागज र कुरामा मात्रै उपाध्यक्ष बनेका गौतम बिच्किए ओलीको शक्ति सन्तुलन बिग्रन सक्ने नेकपाभित्र चर्चा चलेको छ । ओलीसहित नेकपा सचिवालयमा गौतम, महरा, सचिव विष्णु पौडेल र नेता ईश्वर पोखरेलसहित चारजना सदस्य रहेका छन् ।

प्रतिक्रिया