शुक्रबार, वैशाख ७, २०८१

राष्ट्रिय क्रिकेट टोलीको कप्तानको जिम्मेवारी ज्ञानेन्द्रलाई

नेपालखोज २०७६ कार्तिक १३ गते २१:५४

ज्ञानेन्द्र मल्ल नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तान नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार ज्ञानेन्द्रलाई कप्तानको जिम्मेवारी दिने निर्णय गरेको हो ।  यद्यपि, क्यानले आफ्नो यो निर्णयलाई अन्तरिम भनेको छ । ‘अर्काे निर्णय नभएसम्मका लागि ज्ञानेन्द्रलाई कप्तानको जिम्मेवारी दिने निर्णय भएको छ,’ क्यानका सचिव अशोकनाथ प्याकुरेलले भने । उनका अनुसार उपकप्तानमा भने दीपेन्द्रसिंह ऐरीलाई नै निरन्तरता दिने निर्णय क्यानले गरेको छ ।

पारस खड्काले राजीनामा दिएपछि नेपाली टोलीको कप्तान पद खाली थियो । पारसले २८ असोजमा सामाजिक सञ्जालमार्फत कप्तानको जिम्मेवारीबाट राजीनामा दिएका थिए । क्यानले त्यसबारे उनीसँग आधिकारिक जवाफ माग गरेको थियो ।

पारसले गत आइतबार क्यानलाई लिखित रूपमै आफ्नो राजीनामा बुझाएपछि क्यानले नयाँ कप्तान नियुक्त गरेको हो । क्यानको तिहारअघि नै बसेको बैठकले पारसको जवाफ आएपछि नयाँ कप्तानको निर्णय गर्ने जिम्मेवारी प्राविधिक समितिका प्रमुख सञ्जयराज सिंह, सचिव प्याकुरेललगायतलाई दिएको थियो । सोहीअनुसार निर्णय भएको क्यानले जनाएको छ । ‘राष्ट्रिय टोलीसामु चाँडै नै केहीमहत्वपूर्ण प्रतियोगिता आउँदै छन् । त्यसैले हामीले कप्तानको निर्णय चाँडै गर्नुपरेको हो,’ सचिव प्याकुरेलले भने, ‘तिहारअघि नै बसेको बैठकले दिएको जिम्मेवारीअनुसार प्राविधिक समितिका प्रमुख, मलगायत भएर यो निर्णय गरेका हौँ ।’

प्रतिक्रिया