बिहीबार, वैशाख १३, २०८१

प्रधानमन्त्री ओली तीन दिनसम्म अस्पताल रहने सम्भावना

नेपालखोज २०७६ कार्तिक १४ गते ११:४९

१४ कार्तिक, काठमाडौं । ग्राण्डी अस्पतालमा भर्ना गरिएका प्रधानमन्त्री ओलीको डायलासिस सुरु गरिएको र आज पनि जारी रहने अस्पताल स्रोतले जानकारी दिएको छ।

अस्पतालले बुधबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको र आवश्यक परीक्षण पूरा भएपछि बुधबार राती वा बिहीबारसम्ममा अस्पतालबाट डिस्चार्ज गरिने उल्लेख छ।
तर, प्रधानमन्त्री जस्तो व्यक्ति अस्पताल भर्ना हुँदा पनि सूचना लुकाउने प्रयास गरिएको आरोप सामाजिक सञ्जालमा देखिन थालेको छ । अहिले अस्पताललाई प्रधानमन्त्री ओली स्वास्थ्यका बारेमा सूचना सार्वजनिक नगर्न दवाव दिइएको छ ।

तर अस्पतालका एक चिकित्सकका अनुसार प्रधानमन्त्री ओलीको थप डायलासिस गर्नुपर्ने भएकाले कम्तिमा शनिबारसम्म अस्पतालमै बस्नुपर्ने सम्भावना रहेको छ। उनका अनुसार कम्तिमा तीन दिन निरन्तर डायलासिस गरेपछि हप्तामा २ पटक डायलासिस गर्ने गरि डिस्चार्ज गरिने तयारी गरिएको छ ।

प्रधानमन्त्री ओलीको १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएको थियो। मिर्गौला प्रत्यारोपणपछि उनले नियमित स्वास्थ्य जाँच गराउँदै आएका छन्। यसअघि प्रधानमन्त्री ओलीको त्रिवि शिक्षण अस्पतालमा नियमित स्वास्थ्य जाँच हुन्थ्यो। तर सहजताको लागि निजी चिकित्सक शाह नै मिर्गौला विभागको प्रमुख रहेको ग्राण्डीमा उनको स्वास्थ्य जाँच हुन थालेको हो।

प्रतिक्रिया