प्रधानमन्त्री ओलीको दोस्रो डाइलासिस सकियो
१४ कार्तिक, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक मृगौलाको डाइलासिस सकिएको छ । उहाँको दोस्रो डाइलासिस बिहीबार दिउँसो सकिएको अस्पताल स्रोतले जानकारी दिएको छ।
स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री ओलीलाई बुधबार धापासीस्थित ग्राण्डी अस्पताल भर्ना गरी पहिलो डायलाइसिस गरिएको थियो । प्रधानमन्त्रीको रगतमा क्रेटिनिन, युरिया र पोटासियमको मात्रा अत्यधिक बढेर पिसाबमा समस्या देखिन थालेपछि डायलासिस गरिएको अस्पतालले जनाएको छ ।
बुधबार डायलाइसिस सकेर प्रधानमन्त्रीलाई केहीबेर आइसियुमा राखिएको थियो तर साँझ भने उहाँलाई क्याबिनमा सारिएको थियो। शरीरमा चाहिने आवश्यक भन्दा बढी पानी मृगौलाले छानेर पिसाबमार्फत बाहिर पठाउनपर्नेमा प्रधानमन्त्रीको मृगौंलाले काम गर्न छाडेपछि उहाँको शरीरमा पानीको मात्रा धेरै देखिएको थियो जसले अचानक श्वासप्रश्वासमा कठिनाइ भएको थियो । रगतमा रहेको हानिकारक तत्व कम गराउन दोस्रो डायलाइसिस गरेको हो ।
प्रधानमन्त्री ओलीको १२ वर्षअघि फेरिएको मिर्गौलाको काम गर्ने क्षमता घट्दै गएको कारण नै यस बर्ष उहाँ धेरै पटक अस्पताल नै भर्ना हुनेगरी बिरामी पर्नुभएको हो । प्रत्यारोपण गरेको मृगौला मै समस्या देखिएपछी दुई महिना अघि मात्र प्रधानमन्त्री ओलीले सिंगापुरबाट ‘प्लाज्माफेरेसिस’गरेर फर्किनुभएको थियो ।
प्रधानमन्त्री ओलीको २०६४ सालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्यसपछि सिंगापुरमा नियमित स्वास्थ्य परीक्षण गरिरहेका उनको गत महिना प्लाज्मा फेरेसिस गरिएको थियो ।
प्रतिक्रिया