शनिबार, वैशाख १५, २०८१

नेपालमा दैनिक भित्रिन्छन् १८ हजार मोबाइल

नेपालखोज २०७६ कार्तिक २० गते ७:४२

२० कार्तिक, काठमाडाैं । नेपालमा दैनिक औसत १८ हजार थान मोबाइल भित्रिने गरेको पाइएको छ । चालू आर्थिक वर्षको तीन महिनासम्मको भन्सार विभागको तथ्याङ्क अनुसार औसतमा उक्त सङ्ख्या बराबरको मोबाइल दैनिक आयात हुने गरेको हो । विभागका अनुसार असोजसम्म सात अर्ब १९ करोड रुपियाँ बराबरका १६ लाख २३ हजार ७९५ थान मोबाइल आयात भएका छन् ।

गत आवमा मोबाइलको आयातमा केही कमी आए पनि यस वर्ष आयातको प्रवृत्ति भने बढेको छ । गतवर्षको असोजसम्म छ अर्ब २९ करोड रुपियाँ बराबरका १३ लाख ६२ हजार ३३१ थान मोबाइल आयात भएका थिए ।

विभागका अनुसार समीक्षा अवधिमा सबैभन्दा धेरै चीनबाट मोबाइल आयात भएको छ । त्यहाँबाट मात्रै तीन अर्ब ३३ करोड रुपियाँ बराबरको १२ लाख ८४ हजार थान मोबाइल नेपाल भित्रिएका छन् । चीनका हुवावे, सायोमी, ओप्पो, वनप्लस, भीभोलगायतका मोबाइल नेपालमा बढी प्रचलनमा छन् । चीनपछि भारतबाट तीन अर्ब ४० करोड रुपियाँ बराबरका तीन लाख १२ हजार थान मोबाइल भित्रिएको तथ्याङ्क छ । भियतनामबाट समीक्षा अवधिमा करिब २७ हजार थान मोबाइल आयात भएको छ । यो खबर आजको गोरखापत्र दैनिकले छापेको छ ।

प्रतिक्रिया