बुधबार, वैशाख १२, २०८१

पर्यटक लोभ्याउँदै पोकली झरना

नेपालखोज २०७६ कार्तिक २० गते ९:५३

२० कार्तिक, ओखलढुङ्गा । पोकली झरना अवलोकन गर्नेको सङ्ख्या बढेको छ । जिल्लाको पश्चिमी भेगमा पर्ने देशकै दोस्रो अग्लो उक्त झरनामा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटक बढेका हुन् । विगतमा ओखलढुङ्गा र आसपासकै केही युवामात्रै झरनामा पुगेर रमाउने गरेका भए पनि अहिले झरना हेर्नकै लागि आन्तरिक तथा बाह्य पर्यटक आउन थालेका लेतीका रामप्रसाद घिमिरेले बताए ।

“पहिला त गाउँका मान्छे मात्रै फुर्सद मिलाएर जान्थे”, उनले भने, “अहिले त देशका विभिन्न ठाउँदेखि मात्रै होइन विदेशी पनि झरना हेर्नकै लागि भनेर आउँछन् ।” उनका अनुसार मौसम सफा भएको समयमा दैनिक ४०–५० सम्मले झरनाको अवलोकन गर्ने गरेका छन् ।

महोत्सवसहितका कार्यक्रम गरेर झरनाको प्रचार–प्रसार भएसँगै यहाँ पुग्ने पर्यटकको सङ्ख्या पनि ह्वात्तै बढेको पोकली झरना सेवा समाजका संस्थापक अध्यक्ष गुरुकेदार बरालले बताए । “हामी पोकली छाँगो भन्थ्यौँ, त्यो छाँगो अहिले झरना भयो”, उनले भने, “हामीले त्यसको महत्व बुझेर जब प्रवद्र्धन गर्न लाग्यौँ, त्यो छाँगो नै हाम्रो मुख्य सम्पत्ति रहेछ, पहिल्यै विकास गर्न पाएको भए अहिलेसम्म धेरै राम्रो भइसक्थ्यो होला ।” उनकै नेतृत्वमा विसं २०६३ मा झरना सेवा समाज गठन गरेर आधिकारिकरूपमा प्रवद्र्धन थालिएको थियो ।

प्रतिक्रिया