शनिबार, वैशाख ८, २०८१

हवल्दार र सिपाहीले खोले इन्सपेक्टरको भ्रष्टाचार

नेपालखोज २०७६ कार्तिक २० गते १६:३२

२० कार्तिक, काठमाडौं । सशस्त्र प्रहरीका इन्सपेक्टरसहित तीन जना प्रहरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरी मुद्दा दायर गरेको छ । हवल्दार र सिपाही घुससहित पक्राउ परेको घटनामा इन्सपेक्टरमै मिलेमतो खुलेको हो ।

सशस्त्र प्रहरी बल बि.ओ.पी. भजनी कैलालीका घुमुवा सशस्त्र प्रहरी सहायक हवल्दार ज्ञान बहादुर चौधरी र सशस्त्र प्रहरी जवान रतिराम चौधरीलाई आयोगको टोलीले घुससहित पक्राउ गरेको थियो । भारतको स्थानीय बजारबाट मालसामान क्यारिङ गरी ल्याउने क्रममा भन्सार शुल्क तिरिसके पश्चात पनि सेवाग्राहीसँग भन्सार शुल्क बाहेक २० हजार घुस लिदै गर्दा उनीहरु पक्राउ परेका थिए । उनीहरुमाथि अनुसन्धान गर्दा त्यसमा इन्सपेक्टरकै मिलेमतो देखिएको हो ।

अनुसन्धानको सिलसिलामा सशस्त्र प्रहरी बल बि.ओ.पी. भजनी कैलालीमा कार्यरत रहेका सशस्त्र प्रहरी सहायक हवल्दार ज्ञानबहादुर चौधरी र सशस्त्र प्रहरी जवान रतिराम चौधरीले सशस्त्र प्रहरी बल बि.ओ.पी. भजनी कैलालीका तत्कालीन कार्यालय प्रमुख सशस्त्र प्रहरी निरीक्षक रबिन्द्र कार्कीको आदेश र निर्देशनुसार सेवाग्राहीसँग भारतबाट हुने मालसामानको ओसारपोसारको काम सहज गरिदिने भनी रकमको बार्गेनिङ गरेको खुलेको अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले बताए ।

द्यपी इन्सपेक्टर कार्कीले भने आफ्नो निर्देशन नभएको बयान दिएका छन् । आयोगले आफ्नो जिम्मेवारी र पदीय दायित्वसमेतको ख्याल नगरी बदनियतपूर्वक सेवाग्राहीलाई घुस दिन बाध्य पारी सो वापत सशस्त्र प्रहरी निरीक्षक रबिन्द्र कार्कीसमेत तीन जनालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर अपराध भएको देखिंदा विगो रु.२०,०००।– (बीस हजार) कायम गरी आरोपीहरु भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय खण्ड (क) बमोजिम सजायको मागदाबी लिई बिशेष अदालतमा बुधबार मुद्दा दायर गरेको छ ।

प्रतिक्रिया