शुक्रबार, वैशाख ७, २०८१

कर्मचारीको बढेको तलबले महंगायो बजार, मुद्रास्फिती राष्ट्र बैंकको नियन्त्रण बाहिर

नेपालखोज २०७६ कार्तिक २० गते १६:४६

२० कात्तिक, काठमाडौं । कर्मचारीको यस वर्ष बढेको तलबले बजारमा महंगी ह्वात्तै बढाएको छ । साथै यस्तो मुल्यबृद्धि राष्ट्र बैंकको नियन्त्रण बाहिर गएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत यो वर्ष मूल्यबृद्धिलाई ६ प्रतिशतको सिमामा राख्ने बताएको थियो । तर भदौ मसान्तसम्ममा नै मूल्यबृद्धि ६ दशमलव एक ६ प्रतिशतले बढेको देखिएको छ । यसले सरकार मूल्यबृद्धि नियन्त्रणमा भने चुकेको देखिएको छ ।

सरकारले आर्थिक वर्ष २०७३ /०७४ पछि तलब बढाएको थिएन । जसका कारण मूल्यबृद्धि ५ प्रतिशतको सिमामै रहेको थियो । जबकी आर्थिक वर्ष २०६५/०६६ देखि २०७१/०७२ को बिचमा मूल्यबृद्धि ७ देखि १२ प्रतिशतसम्म बढेको थियो । ३ वर्ष कर्मचारीको तलब नबढेका कारण नियन्त्रणमा रहेको मूल्यबृद्धि यो वर्षको बढेको तलबले महंगी सिमा बाहिर गएको छ ।

सरकारले यो वर्षको बजेटमार्फत सरकारी कर्मचारीको १८ देखि २० प्रतिशतसम्म तलब बृद्धि गरेको छ । बढेको कर्मचारीको तलबले बजारमा भने ६ दशमलव १७ प्रतिशतले मूल्यबृद्धि बढाएको छ ।

अधिकृत र त्यो भन्दा माथिल्लो तहका कर्मचारीको १८ प्रतिशत र अधिकृतभन्दा तल्लो तहका कर्मचारीको २० प्रतिशतले तलब बढाइएको थियो । जब जब कर्मचारीको तलब बढ्छ तब बजारमा मूल्य आकासिएको बिज्ञहरु बताउँछन् ।

आर्थिक वर्ष २०६५/०६६ मा निजी तथा सरकारी कर्मचारीको तलब १५ दशमलव ३ प्रतिशतले बढेको थियो । त्यो बेला मूल्य बृद्धि दश वर्ष यताकै उच्च अर्थात १२ दशमलव ६ प्रतिशतले बढ्यो । त्यसैगरि २०६६ सालमा बढेको कर्मचारीको तलबले ९ दशमलव ६ प्रतिशतले मूल्यबृद्धि बढायो भने २०७१ सालमा बढेको तलबले ७ दशमलव २ प्रतिशतले तलब बढायो ।

तलब बढेसँगै मूल्यबृद्धि हुन्छ भन्ने आमनागरिकको मानसकिता छ । जसले पनि ब्यापारीहरुलाई महंगी बढाउन मद्दत पुराएको छ । छिमेकी मुलुकमा सामान्य मूल्यबृद्धि हुँदा यहाँ कसरी ह्वात्तै महंगी बढ्यो ? यस विषयमा नियामक निकायहरुले खोजबिन गर्न जरुरी छ । नियामक निकायको अनुगमन नभएका कारण बजारमा महंगी बढेको हो । जसले ब्यापारी मोटाउन सहयोग गरेको छ भने आमउपभोक्ता मारमा परेका छन् ।

प्रतिक्रिया