बिहीबार, चैत १५, २०८०

परीक्षामा फेल भएकालाई पास गराउने त्रिविका कर्मचारी अख्तियारद्वारा पक्राउ

नेपालखोज २०७६ कार्तिक २१ गते ११:२७

२० कार्तिक, काठमाडौं । परीक्षामा फेल भएकाहरुको उत्तरपुस्तिका नै हेरफेर गराएर उत्तिर्ण गराउने धन्दामा संलग्न दुई जना पक्राउ परेका छन् । त्रिभुवन विश्वबिद्यालयको परीक्षा नियन्त्रण कार्यालयका लेखा अधिकृत कमल दाहाल र र उदयपुरको त्रियुगा क्याम्पसका प्रशासन सहायक तेजनारायण चौधरीलाई अख्त्यिार दुरुपयोग अनुसन्धान आयोगले केही दिनअघि पक्राउ गरेको हो । उनीहरुले एक छात्राको उत्तरपुस्तिका नै हेरफेर गरेर पास गराइदिएका थिए ।

आर्थिक चलखेलका आधारमा यसरी त्रिविमा उत्तरपुस्तिका साट्ने धन्दा चल्दै आएको अख्तियार स्रोत बताउँछ । त्रियुगाकी विद्यार्थीले शिक्षा संकाय स्नातक दोस्रो वर्षको करिकुलम एन्ड इभ्यालुएसन (३१४) को परीक्षा २० असार ०७५ मा दिइन् । गाईघाटकै बरुवा क्याम्पसकी (ख)ले व्यवस्थापन संकाय स्नातक दोस्रो वर्षको फन्डामेन्टल अफ मार्के्टिङ (२१४) को सोही वर्ष १५ साउन र फन्डामेन्टल अफ ह्युमन रिसोर्स म्यानेजमेन्ट (२१६) को १७ साउनमा परीक्षा दिइन् । दुवैको परीक्षा केन्द्र त्रियुगा क्याम्पमा परेको थियो ।

त्रियुगा क्याम्पसकै प्रशासन सहायक तेजनारायण चौधरीसँग आर्थिक डिल गरेर उनले पास हुने उपाय निकालेकी हुन् । पनिकाका लेखा अधिकृत कमल दाहालसँग उनको निकट सम्बन्ध थियो । दाहालले योजनामा साथ दिने विश्वास चौधरीलाई दिए । त्यसपछि चौधरीले दुवै छात्रालाई आफ्नै घरमा बोलाएर सक्कली प्रश्नपत्रअनुसार नयाँ उत्तरपुस्तिकामा उत्तर लेख्न लगाएर साटेका थिए । यसमा ठूले गिरोह संलग्न रहेको आशंकामा अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगा प्रवक्ता प्रदीप कोइरालाले बताए ।

यसअघि त्रिविमा गोल्ड मेडलकै किनबेच हुने गरेको खुलेको थियो । जसमा त्रिवि सेवा आयोगका सदस्यविरुद्ध नै मुद्दा दायर भएको थियो ।

प्रतिक्रिया