बिहीबार, चैत १५, २०८०

उपनिर्वाचन : यसरी हुँदैछ उम्मेदवार मनोनयनपत्र दर्ता

नेपालखोज २०७६ कार्तिक २१ गते १२:४८

२१ कार्तिक, काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य रिक्त पदको आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता   हुँदैछ ।

निर्वाचन आयोगका अनुसार आज बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम रहेको छ । प्रतिनिधिसभा सदस्य एक र प्रदेशसभा सदस्य तीन पदका लागि उपनिर्वाचन हुँदैछ । कास्की निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य तथा भक्तपुरको क्षेत्र नं १ क, बागलुङको निर्वाचन क्षेत्र नं २ ख र दाङको निर्वाचन क्षेत्र नं ३ ख मा प्रदेशसभा सदस्यको उपनिर्वाचन हुँदैछ ।

आयोगका अनुसार, आजै दिउँसो १ः३० देखि ३ः०० बजेसम्म मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने भोलि शुक्रबार बिहान ११ः०० बजेदेखि ५ः०० बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, २३ गते बिहान ११ः०० देखि दिउँसो १ः३० बजेसम्म मनोनयपत्र र उजुरीउपर जाँचबुझ गर्ने, सोही दिन दिउँसो ३ः००देखि ५ः०० बजेसम्म मनोनयन भएका उम्मेदवारको नामावली प्रकाशन गर्ने, २४ गते बिहान १०ः०० देखि दिउँसो १ः०० बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने, सोही दिन दिउँसो ३ः०० देखि अपराह्न ५ः०० बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र २५ गते बिहान ११ः०० अपराह्न ४ः०० बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ ।

पोखरा– कास्की निर्वाचन क्षेत्र नं २ मा मङसिर १४ गते हुनलागेको उपनिर्वाचनअन्तर्गत प्रतिनिधिसभा सदस्य पदका लागि आज उम्मेदवारको मनोनयन गरिने भएको छ । घोषित निर्वाचन कार्यतालीका अनुसार आज बिहान १०.०० बजेबाट दिउँसो १.०० बजेसम्म उम्मेदवारी मनोनयन दर्ताको समय निर्धारण गरिएको कास्कीका जिल्ला निर्वाचन अधिकारी महेन्द्र सुवेदीले जानकारी दिए।

मनोनयन दर्ताका लागि उम्मेदवारले एक—एक जना प्रस्तावक र समर्थकसहित रु १० हजार दर्ता शुल्क बुझाउनुपर्ने छ । प्रस्तावक र समर्थक बन्ने व्यक्ति सम्बन्धित निर्वाचन क्षेत्रको मतदाता नामावलीमा अनिवार्य समावेश भएको हुनुपर्ने उनले जानकारी दिए ।

राजनीतिक दलले जुलुससहित निर्वाचन कार्यालयमा पुगी उम्मेदवार मनोनयन गर्ने तयारी गरेका छन् ।

कास्की २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि रिक्त भएको पदमा निर्वाचन हुनलागेको हो । नेकपाले स्व. अधिकारीकी धर्मपत्नी विद्या भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ भने नेपाली काङ्ग्रेसले खेमराज पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

त्यस्तै समाजवादी पार्टीले धर्मराज गुरुङ, साझा पार्टीले रजनी केसी, राष्ट्रिय प्रजातन्त्र पार्टीले रोमबहादुर भण्डारी, विवेकशील नेपालीले जमुना शर्मालाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । पोखरा महानगरपालिकाअन्तर्गत ११ वडामा समेटिएको कास्की क्षेत्र नं २ मा ७१ हजार ८७१ मतदाता छन् । निर्वाचनका लागि ३२ मतदानस्थल र ८२ मतदान केन्द्र तोकिएको छ । उम्मेदवार मनोनयनका लागि सम्पूर्ण तयारी पूरा भएको जिल्ला निर्वाचन अधिकारी सुवेदीले जानकारी दिए ।

प्रतिक्रिया