शुक्रबार, वैशाख ७, २०८१

काठमाडाैंमै प्राकृतिक ग्याँस अन्वेषण गर्ने सरकारको तयारी

नेपालखोज २०७६ कार्तिक २२ गते ६:५६

२२ कात्तिक, काठमाडौं । खानी तथा भूगर्भ विभागले २६ वर्षपछि पुनः काठमाडौंमा प्राकृतिक ग्याँस अन्वेषण गर्ने भएको छ । विभागले टेकुको दोभानमा प्राकृतिक ग्याँस अन्वेषण गर्ने तयारी गरेको हो । अन्वेषणका लागि विभागले ५५ लाख रुपैयाँ बजेट विनियोजन गरिसकेकोे छ ।

एक अध्ययनअनुसार उपत्यकामा ५० हजार परिवारलाई २० वर्षसम्म खाना पकाउन पुग्ने प्राकृतिक ग्याँस रहेको छ । विभागका प्राकृतिक ग्याँस तथा कोइला शाखा प्रमुख पृथ्वीलाल श्रेष्ठका अनुसार अन्वेषणका लागि टेन्डर प्रक्रियामा जाने अन्तिम तयारी भइरहेको छ । अन्वेषणका क्रममा जमिनको सतहमुनि रहेको पानीमा ग्याँसको अनुपात कति छ भन्ने पत्ता लगाइनेछ ।

विभागले यसअघि पनि मिथेन ग्याँस अन्वेषण गरिसकेको छ । अहिले अन्वेषण गर्न लागेको पुरानै क्षेत्रभित्र भए पनि स्थान भने फरक हुनेछ । यसअघि विभागले काठमाडौं उपत्यकाको १४ ठाउँमा अध्ययन गरिसकेको छ । अब गर्न लागेको अन्वेषण १५औं हो ।

विभागका प्राकृतिक ग्याँस तथा कोइला शाखा प्रमुख श्रेष्ठले चालू आर्थिक वर्ष २०७६/७७ भित्र अन्वेषण कार्यक्रम सकाउने लक्ष्यका साथ कामको तयारी भइरहेको बताए । यो खबर आजको राजधानी दैनिकले छापेको छ ।

प्रतिक्रिया