शुक्रबार, चैत १६, २०८०

१५ दिनसम्म पनि किन छुटेनन् करोडपति जुवाडे ?

नेपालखोज २०७६ कार्तिक २४ गते १५:२८

२४ कार्तिक, काठमाडौं । जुवाखालबाट पक्राउ परेकाहरु सामान्यतया एक सातामै छुट्छन् । अझै पहँुच भएकाहरुलाई एक साता पनि लाग्दैन । तर, दुई करोड ६७ लाख नगदसहित जुवाखालबाट पक्राउ परेका करोडपति जुवाडेहरु भने १५ दिनसम्म पनि छुटेका छैनन् । गत ९ गते पक्राउ परेका उनीहरु अहिलेसम्म पनि प्रहरी हिरासतमै छन् ।

पैसा र पहुँच दुवै भएका उनीहरु छुट्न नसक्नुलाई आश्चर्यका साथ हेरिएको छ । पक्राउ परेकामध्ये एक व्यक्ति किरिया बस्नुपरेकाले पनि मुद्दा ढिलाई भएको हो । पक्राउ परेकाहरु सबै पहुँचवाला भएपनि प्रहरीले उनीहरुलाई छिटो छाड्न सहयोग गरेको छैन ।
स्रोतका अनुसार आइतबार उनीहरुको फाइल सरकारी वकिल कार्यालयमा पठाउँदैछ । सोमबार सिडिओ कार्यालयबाट छुट्ने सम्भावना छ ।

आठ जना अस्प्तालमा

पक्राउ परेका २५ मध्ये आठजना केही दिनयता अस्पतालमा छन् । पक्राउ परेकामध्ये पवित्रकुमार कार्की, इन्द्रबहादुर श्रेष्ठ, सोहेल कार्की, पवनकुमार गुप्ता, शम्भुकुमार बुढाथोकी, होमप्रसाद चौलागाईं, श्रवणकुमार गोयल र रञ्जन राजवंशी ह्याम्स अस्पताल भर्ना भएका हुन् ।
‘कोही प्रेसर त कोही मुटुको रोगी भन्दै अस्पताल भर्ना भइरहेका छन्,’ महानगरीय प्रहरी वृत्त महाराजगञ्जका एक प्रहरी अधिकारीले भने, ‘चिकित्सकले नै भर्ना गर्ने निर्णय गरेपछि हामीले रोक्न सक्ने अवस्था भएन ।’

तर, हिरासत छल्नकै लागि उनीहरू त्यसरी अस्पतालमा भर्ना भएको स्रोत बताउँछ । उनीहरू अस्पतालमा क्याबिनमा बसेका छन् । अस्पताल भर्ना भएका पवित्रकुमार नेपाल विमान सञ्चालक संघका पूर्वअध्यक्ष हुन् । त्यस्तै, श्रवणकुमार सनराइज बैंकका पूर्वसञ्चालक तथा इन्द्रबहादुर श्रेष्ठ उद्योग वाणिज्य संघ दोलखाका अध्यक्ष हुन् ।

प्रतिक्रिया