शुक्रबार, चैत १६, २०८०

कालापानी सीमा विवाद : हामीसँग बलिया प्रमाण छन्

नेपालखोज २०७६ कार्तिक २५ गते ७:०६

२५ कार्तिक, काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले लिम्पियाधुराबाट आएको काली नदी नै नेपाल र भारतको सिमाना भएको बताएका छन् । पूर्वप्रधानमन्त्री खनालले सुगौली सन्धिले काली नदीलाई स्पष्ट रूपमा सिमाना किटान गरेको चर्चा गर्दै लिम्पियाधुरा नै काली नदीको मूलप्रवाह भएको स्पष्ट पारे ।

नेता खनालले भने, “लिम्पियाधुरा नै नेपाली भूमिको सिमाना हो भन्नेमा कुनै विवादै हुन सक्दैन । त्यसका थुप्रै प्रमाण छन् । ” उनले सीमा नदीका विषयमा विवाद देखिए ‘हाइड्रोलोजी’ (जलवायु विज्ञान) अध्ययनमार्फत किनारा लगाउन सकिने बताए ।

उनले ढिलो भए पनि कालापानीको विषय महŒवपूर्ण ढङ्गले उठेको चर्चा गर्दै राष्ट्र एकताबद्ध र एकढिक्का भएर नेपाली भूमि फिर्ता ल्याउन पहल गरिनुपर्ने बताए । उनले भने, “हामीसँग बलिया प्रमाणहरू छन् । मुलुकले अब पहलकदमी गरेर समस्या समाधान गर्नुपर्छ । ”

नेता खनालले कालापानी समस्या समाधानका लागि पहिलो चरणमा सरकारले ‘पोजिसन पेपर’ तयार पार्नुपर्नेसमेत बताए । उनले छिमेकी देशहरूसँग नेपालको सीमा विवादमा समाधान खोज्ने यो उपयुक्त समय भएको भन्दै सिमानालाई अन्तर्राष्ट्रिय अभिसन्धि र कानुनअनुसार व्यवस्थित बनाइनुपर्नेमा जोड दिए । उनले भने, “दसगजा भनेको ‘नो मेन्सल्यान्ड’ हो । कसैले दुरुपयोग गर्न पाउँदैन । तर हाम्रा कैयौँ ठाउँमा दसगजामा समस्या देखिएका छन् । त्यसलाई वैज्ञानिक ढङ्गले व्यवस्थापन गर्नुपर्ने छ । ”  यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया