बुधबार, वैशाख २६, २०८१

राष्ट्रियताको विषयमा देश एक ढिक्का छ : प्रचण्ड

नेपालखोज २०७६ कार्तिक २६ गते १९:००

२६ कार्तिक, चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियताका विषयमा देश एक ढिक्का भएको बताएका छन् । चितवनको भरतपुरमा आयोजित एक कार्यक्रममा अध्यक्ष दाहालले सीमाका विषयमा प्रधानमन्त्रीले बोलाउनुभएको बैठकमा सबैको एकमत भएको बताए।

अध्यक्ष दाहालले भने, “जहाँसम्म सीमाको विषय रहेको छ यसमा पहिलोपटक राष्ट्रिय एकता र सहमति भएको छ । यो गर्वको कुरा हो ।” प्रधानमन्त्रीले बोलाउनुभएको सर्वदलीय बैठकमा सम्पूर्ण राष्ट्र एक ढिक्का छ भन्ने कुरा देखिएको उनले बताए ।

सन् १८१६ को सुगौली सन्धि, त्यसपछिका चिठीपत्र र सुगौली सन्धिपछि छापिएका औपचारिक र वैधानिक नक्शाले लिम्पियाधुरालाई नै महाकाली नदीको मुहान मानेकाले सोहीअनुरुप अघि बढ्नुपर्ने उनले बताए । अध्यक्ष दाहालले भने, “सुगौली सन्धिले महाकाली नदी नै सीमा भनेको छ”, सोही ऐतिहासिक तर्क, तथ्य र दस्तावेजले नेपालको भूमि कति, भारतको कति हो भन्ने कुरा प्रमाणित गरेको छ ।”

उनले सीमा विवादको विषय राष्ट्र र पार्टीका लागि निकै चुनौती बनेर आएको भन्दै शक्तिशाली सरकारले चुनौतीलाई पार गर्दै अघि बढ्ने    बताए ।

प्रतिक्रिया