मंगलबार, वैशाख ११, २०८१

पक्की घर हस्तान्तरण भएपछि मुसहर परिवारमा खुशी

नेपालखोज २०७६ कार्तिक २८ गते १०:४८

२८ कार्तिक, सुर्खेत । कावासोती नगरपालिकाअन्तर्गत रहेका विपन्न माझी, मुसहर परिवारलाई घर हस्तान्तरण गरिएको छ ।

नेपाल सरकारको तराई–मधेश समृद्धि कार्यक्रम र कावासोती नगरपालिकाको नगरभित्र खरको छानोमुक्त घर बनाउने योजनाअनुसार यहाँका विपन्न माझी, मुसहर समुदायलाई घर निर्माण गरी हस्तान्तरण गरिएको हो ।

कावासोती नगरपालिकाअन्तर्गत यहाँका चार वडाका २७ घरपरिवारलाई घर निर्माण गरी हस्तान्तरण गरेसँगै घर पाउने विपन्न परिवार खुशी भएका छन् । कावासोती नगरपालिकाभित्र रहेका वडामध्ये वडा नं ७ मा १० घर, ११ मा चार घर, १२ मा तीन घर, १३ मा १० घर निर्माण गरिएको छ ।

खरको छानोलाई विस्थापित गर्दै विपन्न समुदायका २७ घरपरिवारलाई टिनले छाएको पक्की दुईकोठे घर निर्माण गरी हस्तान्तरण गरिएको हो । कावासोती नगरपालिकाभित्र रहेका चार वडामा कूल रु ७२ लाखको लागतमा २७ घर निर्माण गरिएको हो । नेपाल सरकारको रु ५० लाख, कावासोती नगरपालिकाको रु पाँच लाख, उपभोक्तामार्फत रु १७ लाख गरी कूल रु ७२ लाखको लागतमा घर निर्माण गरिएको कावासोती नगरपालिका प्रमुख प्रशासकीय अधिकृत रोशन ज्ञवालीले बताए ।

कावासोती नगरपालिकाले विपन्नहरुका लागि आवास बनाउने योजनाअनुरुप अघिल्लो वर्ष वडा नं १५ मा घर निर्माण गरी हस्तान्तरण गरेको थियो । यस वर्ष पनि केन्द्रीय सरकारसँग समन्वय गरी वडा नं १५ र १७ मा रहेका विपन्न परिवारको घर निर्माण गर्ने योजना रहेको कावासोती नगरपालिका प्रमुख चन्द्रकुमारी पुनले बताए ।

नगरपालिकाले नगरभित्र खरको छानोमुक्त नगर बनाउने उद्देश्यअनुसार नगरपालिकाले पनि योजनाहरु निर्माण गरिरहेको र केन्द्र, प्रदेश सरकारसँग समेत समन्वय गर्दै टिनले छाएका पक्की घर निर्माणकार्यलाई अगाडि बढाउँदै लगेको नगरप्रमुख पुनले बताए । नगरपालिकाले गत आर्थिक वर्षबाटै नगरभित्र खरको छानो हटाउने नीति तथा कार्यक्रम तयार पारेर अगाडि बढेको छ ।

प्रतिक्रिया