शुक्रबार, वैशाख १४, २०८१

उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष ढकाललाई ३ अर्ब ७५ करोड ब्याज मिनाहा दिने तयारीमा बाणिज्य बैंक

नेपालखोज २०७६ कार्तिक २८ गते १३:१३

२८ कार्तिक, काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकले उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकाललाई ३ अर्ब ७५ करोड बराबरको ब्याज बापतको रकम मिनाहा गर्ने तयारी गरेको छ ।

ब्याज मिनाहा गर्नका लागि ढकालले करिब १ वर्ष यतादेखि बैंकको उच्च व्यवस्थापनलाई दवाव दिइरहेका छन् । ढकालले करिब २६ वर्ष अघि राष्ट्रिय बाणिज्य बैंकबाट गार्मेन्ट उद्योग सञ्चालनका लागि ऋण लिएका थिए ।

केहि वर्ष ब्याज तिरेपनि बिचमा आएर उनले आफ्नो उद्योग टाट पल्टेको भन्दै बैंकलाई ब्याज र किस्ता दुबै तिर्न छाडे । अहिले उनको कम्पनी मोरेन्टो एप्रिल्सको ऋण ४ अर्ब २५ करोड पुगेको छ । यता ढकाल भने ऋणको सावा मात्रै तिरेर ब्याज मिनाहा योजनामा लागेका छन् ।

कुल ४ अर्ब २५ करोड मध्ये ३१ करोड ५६ लाख ऋण हो । ८५ करोड साधारण ब्याज हो भने ९ करोड जरिवाना र ३ अर्ब कम्पाउण्ड ब्याज । स्रोतका अनुसार बैंकले अहिले ढकाललाई कम्पाउण्ड ब्याज र जरिवाना ब्याज छुट दिनुका साथै साधारण ब्याजको पनि पुनरावलोकन गर्न लागेको छ । कम्पाउण्ड ब्याज, जरिवाना ब्याज छुट र साधारण ब्याजको पुनरावलोकन गर्ने हो भने बैंकले ३ अर्ब ७५ करोड बराबरको रकम गुमाउछ ।
बैंकका एक उच्च अधिकारीले भने ‘ढकालको ब्याज रकम मिनाहा गर्नका लागि पटक पटक बैठक बसिएको छ, आयोजना फेरी सञ्चालन गर्ने भन्दै ऋणको पुनरावलोकन गर्न लागिएको हो । ’ ढकालले एक विदेशी नागरिकले आफ्नो कम्पनीमा लगानी गर्न लागेको भन्दैं बैंकसामु प्रस्तुत गरिरहेका छन् ।

बैंकले यसअघि पनि विभिन्न व्यवसायीहरुको ऋण पुनरावलोकन गरेको स्रोत बताउँछ । पुन आयोजना सञ्चालन गर्ने प्रतिवद्धता र त्यसका लागि आवश्यक रकमको जोहो गर्ने आधार सहितको प्रमाण पेश गरे बाणिज्य बैंकले ऋणको पुनरावलोकन गर्न लागेको छ ।

राष्ट्रिय बाणिज्य बैंकले ढकालको गार्मेन्ट उद्योगको भ्यालुएसन गर्दा कुल सम्पत्ति २४ करोड देखिएको छ । धितो लिलाम गर्दा भने बैंकको सावा मार्फत गरेको लगानी नै नउठ्ने देखिन्छ । चिल्लो गाडीमा सरर गुडेर हिड्ने अनि कम्पनी डुबेको भन्दै यस्ता ब्यक्तीको ऋण पुनरावलोकन हुनु पक्कै पनि उचित होइन । तर राजनीतिक शक्तिको आडमा ढकालले बैंकलाई पटक पटक दवाव दिएर निर्णय आफ्नो पक्षमा पार्न लागेका छन् ।

प्रतिक्रिया