बिहीबार, वैशाख २०, २०८१

धनगढी विमानस्थल आंशिक रुपमा बन्द हुने

नेपालखोज २०७६ मंसिर १ गते १२:२९

१ मंसिर, कैलाली । धनगढी विमानस्थल आइतबारदेखि आंशिक रूपमा बन्द हुने भएको छ । मर्मतका लागि यसअघि १ महिना बन्द गरिएको विमानस्थल मर्मतको थाती काम पूरा गर्न पुन १ महिनासम्म बन्द गर्न लागिएको धनगढी विमानस्थलका प्रमुख तेजबहादुर बुढथापाले जानकारी दिए।

विमानस्थल बन्द हुने भएपछि धनगढी–काठमाडौं–धनगढीका उडान प्रभावित हुने भएका छन् । धावनमार्ग र पार्किङ्गस्थल निर्माणका लागि आइतबारबाट दिउँसो ३ बजेदेखि अर्को दिन बिहान ७ बजेसम्मका लागि एक महिनासम्म विमानस्थल बन्द रहने छ ।

नेपाल एयरलाइन्सको विमानले आइतबार, मंगलबार र विहिबार नियमित रुपमा नै उडान भर्ने छन् । धनगढीबाट अहिले श्री यएरलाइन्स, बुद्धले दैनिक र नेपाल एयरलान्सले हप्ताको ३ दिन धनगढी–काठमाडौं–धनगढी उडान भर्दै आइरहेका छन् । दैनिक दुई उडान गर्दै आएको बुद्ध एयरले सो अवधिमा बिहान एउटा मात्रै उडान गर्ने र श्री एयरलाइन्सले दिउँसोको उडानमा केही फेरबदल गरिए पनि दैनिक दुई उडान हुने बताईएको छ ।

धनगढी विमानस्थलको मर्मतको काम अहिले जारी छ । हालसम्म विमानस्थलको १ हजार ८ सय मिटर लामो धावनमार्गमध्ये ४ सय २० मिटर काम बाँकी छ । एक वर्षको अवधि तोकेर धनगढी विमानस्थलको धावनमार्ग र पार्किङ क्षेत्र विस्तारको ठेक्का सम्झौता भएको छ ।

धनगढी विमानस्थल प्रमुख बुढथापाका अनुसार करिब १८ करोडको लागतमा खड्का, कोशी, न्यौपाने जेभीले निर्माणको काम गरिरहेको छ। धनगढी विमानस्थल त्रिभुवन विमानस्थलपछिको सबैभन्दा लामो धावनमार्ग भएको विमानस्थल हो । यसको धावनमार्ग ६० मिटर चौडा र १ हजार ८ सय मिटर लामो छ ।

प्रतिक्रिया