बिहीबार, वैशाख १३, २०८१

विद्यालय संचालकको निर्देशनमा विद्यार्थी कुटपिट, विद्यार्थीद्वारा स्कूलमा तालाबन्दी

नेपालखोज २०७६ मंसिर ६ गते ९:३१

६ मंसिर, जनकपुरधाम । जनकपुरको एक निजी विद्यालयमा विद्यार्थीलाई कुटपिट गरेपछि विद्यालयमा अध्ययनरत विद्यार्थीहरुद्वारा आफ्नै विद्यालयमा तालाबन्दी गरेर विरोध प्रदर्शन गरेका छन् ।

जनकपुरको विद्यापति चौकस्थित न्यू इंग्लिश बोर्डिंग स्कूलमा अध्ययन–अध्यापनमा समस्या भएको भन्दै विद्यार्थीहरुले विद्यालय सञ्चालक विरुद्ध आवाज उठाएका थिए । सोही निहुँमा विद्यालय संचालक (अध्यक्ष ) सदन भगतको निर्देशनमा सोही विद्यालय कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुलाई आज विहानै कुटपिट गरेको पीडि़त विद्यार्थीले आरोप लगाएका छन् ।

विद्यालयमा कक्षा ११ मा अध्ययनरत सिद्धार्थ शर्मा, कक्षा १२ मा अध्ययनरत सोभित गोयनका र रितेश मंडललाई कुटपिट गरेको भन्दै अहिले विद्यालयको मुख्यद्वारमा ताला लगाउदै सयौँ विद्यार्थीहरु प्रदर्शनमा उत्रेका छन् ।

कुटपिट गर्ने विद्यालय अध्यक्ष सदनका पुत्र अतीत भगत, इंद्रेश र पारस भन्नेलाई स्थानीय प्रशाशनले शोधपुछको लागि नियन्त्रणमा लिएको धनुषा प्रहरीका प्रवक्ता रामेश्वर कार्कीले जानकारी दिए ।

कार्कीका अनुसार फाउन्डर बीचको विवादले गर्दा विद्यार्थीहरुको अध्ययन प्रभावित भएको भन्दै विद्यार्थीहरुले विद्यालयमा ताला लगाउन जाँदा विवाद भएको हो ।

पढ़ाईको विषयलाई लिएर यसअघि पनि सोही विद्यालयमा अध्ययनरत कक्षा १२ र ११ का विद्यार्थीले धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीप कनेललाई लिखित निवेदन नै दर्ता गराएका छन् ।

विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थीहरुले फाउन्डरको आपसी विवादको बहानामा आफूहरुको पढ़ाई प्रभावित हुनु हुँदैन भन्ने तर्क गर्दै आएका छन् ।

प्रतिक्रिया