शुक्रबार, चैत ७, २०८१

नेकपाका शीर्षनेता उपनिर्वाचनको दौडमा व्यस्त

नेपालखोज २०७६ मंसिर ७ गते १५:१९

७ मंसिर, काठमाडौं । उपनिर्वाचनको मिति नजिकिँदै गर्दा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्षनेता चुनावी दौडमा व्यस्त हुन थालेका छन्।

Advertisement

यही मङ्सिर १४ गते हुने निर्वाचनका लागि नेताहरु निर्वाचन हुने जिल्लामा जानेक्रम बढेको छ । चुनावीसभालाई सम्बोधन गर्न आज नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव विष्णु पौडेलले बागलुङ पुगे । अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली यही मङ्सिर ११ गते कास्की–२ को अमरसिंह चोकमा हुने आमसभामा सम्बोधनका लागि जाने कार्यक्रम छ ।

नेकपाको समर्थनमा राष्ट्रिय जनमोर्चाबाट प्रदेशसभा सदस्यका लागि उम्मेदवार बनेका बागलुङ–२ (ख) खिमविक्रम शाहीको पक्षमा प्रचारप्रसार गर्न नेताहरु बागलुङ पुगेका हुन् ।

बागलुङपछि अध्यक्ष प्रचण्ड र नेता सुवास नेम्वाङ मङ्सिर ११ गते भक्तपुरको सभामा सम्बोधनका लागि जानुहुने नेकपाका कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए । भक्तपुर–१ (क)मा नेकपाका तर्फ प्रदेशसभा सदस्यका लागि डिपी ढकाल उम्मेदवार बनेका छन् ।

उपनिर्वाचनको चुनावीसभा सम्बोधन गर्न अध्यक्ष प्रचण्ड पोखरा र दाङ पुगिसकेका छन् । २०७४ सालमा भएको निर्वाचनमा वामगठबन्धनबाट निर्वाचित भएका र अन्य क्षेत्रमा विजय हासिल गर्न शीर्षनेता उपनिर्वाचन हुने क्षेत्रमा पुगेका हुन् ।

नेकपाले उपनिर्वाचनमा सहजै जित्ने बताउँदै कार्यालय सचिव रिजालले स्थानीय तहको प्रमुख र उपप्रमुखको निर्वाचन हुने क्षेत्रमा पनि नेताहरु जाने तयारी भइरहेको बताए ।

भक्तपुरमा वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपालका साथै सचिवालय सदस्य वामदेव गौतमले चुनावीसभालाई सम्बोधन गरिसकेको छन् ।

नेकपाले निर्वाचनमा विजय हासिल गर्न स्थानीय तहमा पनि प्रचारप्रसारलाई तीव्रता दिएको छ । प्रतिनिधिसभा सदस्यका लागि कास्की–२ बाट विद्या भट्टराई उम्मेदवार बनेकी छिन् । रवीन्द्र अधिकारीको निधनपछि रिक्त रहेको उक्त क्षेत्रमा पार्टीले उनकी धर्मपत्नी भट्टराईलाई उम्मेदवार बनाएको हो ।

यसैगरी दाङ–३ (ख)मा प्रदेशसभा सदस्यका लागि कमला वली उम्मेदवार बनेकी छिन्। निर्वाचन आयोगले यही मङ्सिर १४ गते बिहान ७ देखि साँझ ५ बजेसम्म रिक्त रहेको प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिको निर्वाचन गर्ने भएको छ ।

स्थानीय तहमा सुनसरीको धरान उपमहानगरपालिका प्रमुख, पाँचथरको फागुनन्द गाउँपालिकाको अध्यक्ष, सङ्खुवासभाको मकालु गाउँपालिकाको अध्यक्ष, महोत्तरीको पिपरा गाउँपालिका अध्यक्ष र हुम्लाको खार्पुथान गाउँपालिकाको उपाध्यक्ष र अन्य वडाअध्यक्ष गरी ४६ स्थानमा उपनिर्वाचन हसँदैछ ।

प्रतिक्रिया