शुक्रबार, वैशाख १४, २०८१

उपनिर्वाचनमा २८ हजार सुरक्षाकर्मी परिचालन

नेपालखोज २०७६ मंसिर ८ गते ९:३१

८ मंसिर, काठमाडौँ । आगामी मंसिर १४ मा हुने प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहको उपनिर्वाचनका लागि २८ हजार सुरक्षाकर्मी परिचालन गरिने भएको छ । नेपाल प्रहरी ६ हजार, सशस्त्र प्रहरी र नेपाली सेनाका १०÷ १० हजार गरी २८ हजार सुरक्षाकर्मी परिचालन गरिने निर्वाचन आयोगले जनाएको छ ।

यस्तै आवश्यकता अनुसार राष्ट्रिय अनुसन्धानका सुरक्षाकर्मीहरुसमेत परिचालन गरिने आयोगले जनाएको छ । निर्वाचन आयोगले उपनिर्वाचनका लागि एकीकृत सुरक्षा योजना बिहीबार पारित गर्दै सबै सुरक्षा निकायबाट उपनिर्वाचनमा प्रयोग गरिने सुरक्षाकर्मीको संख्यासहित स्थानको अवस्था विश्लेषण गरेको छ ।

बिहीबार बसेको उच्चस्तरीय सुरक्षा समितिको बैठकले उपनिर्वाचन हुने मतदान स्थललाई सामान्य, संवेदनशील र अति संवेदनशीलमा वर्गीकरण गी सोहीअनुरुपको सुरक्षा व्यवस्था मिलाउने निर्णय गरेको निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालले बताए ।

सामान्य अवस्था रहेको मतदान स्थलमा ७ जना, संवेदनशीलमा १० जना र अति संवेदनशीलमा १२ जनासम्म प्रहरी राख्ने तयारी निर्वाचन आयोगले गरेको छ ।

यस्तै, एक मतदान स्थलमा १० देखि १२ जना सशस्त्र प्रहरी र १० देखि १२ जनाको नेपाली सेनाको टोली अवस्थाअनुसार परिचालन हुने निर्वाचन आयुक्त पौड्यालले बताए । ३७ जिल्लामा गरी कुल ५२ पदका लागि १४ मंसिरमा उपनिर्वाचन हुँदैछ ।

प्रतिक्रिया