बिहीबार, वैशाख १३, २०८१

पृथ्वीनारायण शाह सङ्ग्रहालय बन्दै नुवाकोटमा

नेपालखोज २०७६ मंसिर १० गते ११:१८

१० मंसिर, नुवाकोट । नुवाकोटको विदुर नगरपालिका–२ दरबार क्षेत्रको कुवापानीस्थित भगवती मन्दिर परिसरमा ‘पृथ्वीनारायण शाह सङ्ग्रहालय’ निर्माण थालिएको छ ।

विशाल नेपालको एकीकरणको शुरुआत नुवाकोटबाट गरेका पृथ्वीनारायवण शाहसँग सम्बन्धित सामग्री र उनका जीवनसँग जोडिएका विषयवस्तुको सचित्र उतार्ने प्रयासस्वरुप सङ्ग्रहालय निर्माण शुरु गरिएको वडा नं २ का वडाध्यक्ष वीरेन्द्रकुमार शाहीले जानकारी दिए ।

वडाध्यक्ष शाहीका अनुसार ७ रोपनी जग्गामा ५ करोड २८ लाख लगानीमा निर्माण थालिएको सङ्ग्रहालय २ वर्षभित्र पूरा गर्न निर्माणको जिम्मेवारी शृङ्खला निर्माण सेवा बट्टारलाई दिइएको छ ।

शहरी विकास तथा भवन निर्माण विभाग, सङ्घीय आयोजना कार्यान्वयन एकाइ धादिङमार्फत ठेक्का लगाएर निर्माण थालिएको सङ्ग्रहालय ४ तलाको हुने छ । जसमा नुवाकोट, रसुवा र धादिङमा रहेका नौ कोटसँग सम्बन्धित सबै विषयवस्तुलाई उतारेर प्रदर्शनीमा राखिने छ ।

भवन विभागमार्फत काम थालिएको र पुरातत्व विभागसँग सम्बन्धित नभए पनि काम सम्पन्न भएपछि समन्वय गरेर नुवाकोटसहित मुलुकभरमा रहेका शाहसँग जोडिएका र उनले प्रयोग गरेका तोप र हातहतियार, उनले दिएको दिव्योपदेशलगायतलाई सङ्ग्रहालयमा प्रदर्शनीका लागि राखिने बताइएको छ ।

प्रतिक्रिया