बिहीबार, वैशाख १३, २०८१

प्रधानमन्त्री ओलीलाई टिचिङमा सार्न विशेष बैठक बस्यो

नेपालखोज २०७६ मंसिर १२ गते १३:३८

१२ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको थप स्वास्थ्य उपचारबारे छलफल गर्न चिकित्सक तथा विशेषज्ञहरुको बैठक बसेको छ । प्रधानमन्त्रीको उपचारका लागि अल्पकालीन र दीर्घकालीन तयारीबारे छलफल गर्न बैठक बसेको जानकारी उपचार टिमका संयोजक प्रा.डा.अरुण सायमीले दिए ।

प्रा.डा. सायमीका अनुसार प्रधानमन्त्रीको स्वास्थ्य अवस्था स्थिर र सुधारोन्मुख रहेको छ । तर नियमित डायलासिस प्रकियालाई सहज बनाउन त्रिभुवन शिक्षण अस्पताल (टिचिङ) मा प्रधानमन्त्री ओलीलाई सार्ने तयारी भइरहेको र त्यसबारे छलफल चलिरहेको उनले बताए ।

एपेन्डिसाइटिस शल्यक्रियापछि अस्पतालमै आराम गरिरहेका प्रधानमन्त्री ओलीको मिर्गौलाको कार्यक्षमतामा ह्रास आएपछि बुधबार पुनः डायालासिस गरिएको थियो। रगत शुद्धीकरणका लागि डायलासिस गर्नुपरेको चिकित्सकले जनाएका छन्। यो उनको पाँचौ पटकको नियमित डायलासिस प्रक्रिया हो । महाराजगन्जस्थित सरकारी अस्पताल मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा बुधबार साँझ डायलासिस गरिएको हो । यसअघि प्रधानमन्त्री ओलीको धापासिस्थित ग्राण्डि इन्टरनेशनल हस्पिटलमा चार पटकसम्म डायलासिस गरिएको थियो।

मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा डायलासिस गर्नका लागि पर्याप्त उपकरण र मेडिकल सर्पोट नभएकोले डायालासिस प्रक्रियामा समस्या भएको चिकित्सकले बताएका छन्। बुधबार पनि त्रिभुवन शिक्षण अस्पताल (टिचिङ) बाट मेशिन र उपकरण लगेर डायलासिस गर्दा करिब पाँच घन्टा लागेको थियो।

१२ वर्षअघि मिर्गौला फेल भएपछि ६४ सालमा उनको भारतको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । प्रत्यारोपणपछि उनले इम्युनोसप्रेसिभ औषधि सेवन गर्दै आएका छन् । उक्त औषधिका कारण प्रतिरोधात्मक क्षमतामा कमी आउने भएकोले बेलाबेलामा उनको स्वास्थ्यमा समस्या देखिने गरेको चिकित्सकले बताएका छन् ।

प्रतिक्रिया