शुक्रबार, वैशाख १४, २०८१

सशस्त्रका तत्कालीन एसपी लामाकाे बयान- ‘विस्फाेटकाे जानकारी मेराे यूनिटलाई थियाे’

नेपालखोज २०७६ मंसिर १६ गते ८:२१

१६ मंसिर, काठमाडाैँ । रौतहटको राजपुर बमकाण्ड दबाउन सहयोगी भूमिकामा मुछिएका सशस्त्र प्रहरीका तत्कालीन एसपी रामकृष्ण लामाले आफूलाई लगाएको आरोप अस्वीकार गरेका छन्। मंसिर ४ गते रौतहट प्रहरी कार्यालयमा उपस्थित भएका लामाले अनुसन्धान गर्ने जिम्मेवारी नेपाल प्रहरीको भएकाले घट्ना दबाउन आफ्नो सहयोग नरहेको बताएका हुन्।

राजपुर काण्डका मुख्य दोषी नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सांसद आफताब आलमका पूर्वसुरक्षा गार्डसमेत रहेका लामाले प्रहरी कार्यालय पुगेर आफूमाथि लागेको आरोपमा इन्कारी बयान दिएका हुन्। रौतहट प्रहरी स्रोतका अनुसार उनले आफ्नो कुनै पनि भूमिका नभएको तर बम पड्केको जानकारी आफ्नो युनिटले गराएको बताएका छन्। ‘मैले बम पड्केको र त्यहाँ मान्छे मरेको भन्ने जानकारी पाएर तत्कालीन प्रमुख जिल्ला अधिकारी दुर्गा भण्डारीलाई खबर गरेको थिएँ, उहाँले नेपाल प्रहरीले अनुसन्धान गर्दै छ भनेपछि मैले त्यसलाई खास ध्यान दिइनँ,’ लामाको बयान उद्धृत गर्दै रौतहट प्रहरी स्रोतले भन्यो।

उनले आफूलाई लगाएको आरोप पूर्णत अस्वीकार गर्दै अनुसन्धानको पाटोमा आफ्नो संलग्नता र घाइेत ओसारपसारमा आफ्नो कुनै भूमिका नभएको दाबी गरेका छन्। स्थानीय प्रत्यक्षदर्शीले लामाले घाइतेलाई ट्रकमा हालेर इँटाभट्टा लैजान सहयोग गरेको आरोप लगाएका थिए।

त्यस्तै, नेपाल प्रहरीका बहालवाला इन्स्पेक्टर तथा रौतहटमा कार्यरत तत्कालीन सई ईश्वरविक्रम शाहले अनुसन्धानकर्तालाई बयान दिने क्रममा ‘विस्फोटमा घाइते भएकालाई इँटाभट्टामा हालेपछि घटना सामसुम पार्न सकिन्छ भनेर सशस्त्रका एसपी रामकृष्ण लामा, नेपाल प्रहरीका एसपी लक्ष्मण न्यौपाने र आलमबीच सल्लाह भएको,’ बताएका थिए। अधिकारकर्मीहरूको तत्कालीन प्रतिवेदनमा पनि घाइतेहरूलाई ट्र्याक्टरमा इँटाभट्टा लग्दा सशस्त्र प्रहरीको गाडीले स्कर्टिङ गरेको उल्लेख छ। याे खबर नागरिक दैनिकमा छ।

प्रतिक्रिया