शुक्रबार, चैत ७, २०८१

राजनीतिमा विद्यार्थीको भविश्य के ?

नेपालखोज २०७६ मंसिर १६ गते १६:०७

मंसिर १६, काठमाडौँ । नेपाल विद्यार्थी संघ नेपाली कांग्रेस पार्टी अर्थात बलियो प्रजातान्त्रिक परिचय बोकेको पार्टीको भातृ संगठन हो । तर, विडम्बना यस संगठनका सबै काम कारबाहि पूर्ण प्रजातान्त्रिक बन्न सकेका छैनन् । यसभित्र अहिले उमेर हद विवादका कारण केन्द्रीय समिति समेत अन्योलमा छ । कुरा अहिलेको मात्र होईन यस संगठनमा प्राय विधान अनुरुप समयमा महाधिवेशन हुन सकेको छैन ।

Advertisement

पछिल्लो समय एघारौँ महाधिवेशनबाट नैनसिंह महरको नेतृत्वमा निर्वाचित समितिले थपिएको समयसीमाभित्र महाधिवेशन गर्न नसकेका कारण भंग हुन पुग्यो । २०२७ सालमा स्थापना भएको नेविसंघमा हालसम्म विधान संम्वत् ११ वटा महाधिवेशन भएका छन, जबकी विधानमा प्रत्येक २ वर्षमा महाधिवेशनबाट नेतृत्व चयन गर्ने व्यवस्था गरिएको छ । पार्टीले ७ सात पटक केन्द्रीय समिति मनोनित गरेको अवस्था छ ।

मुल पार्टीको नेतृत्व उत्पादन गर्ने नर्सरी जस्तै मानिने नेविसंघ नेतृत्व नै नपाई लामो समयसम्म रित्तो रहदाँ विद्यार्थी राजनीति गर्ने युवाको जीवन भ्रमपूर्ण भैरहेको छ । संगठनले नेतृत्व नपाउँदा विद्यार्थी राजनीति गर्नेहरुले सहि भुमिका समेत पाउँन सकेका छैनन् । यसले झन उनिहरुमा नैराश्यता बढाउँदै लिएको छ ।

यति मात्र होईन समस्या अर्को पनि छ, त्यो हो, विभिन्न ईकाइमा रही काम गरिसकेका विद्यार्थी नेताहरुले अर्को जिम्मेवारीको विकल्प नपाउँनु । विकल्प नहुँदा उनिहरु लामो समय क्याम्पस र जिल्ला तहमा सिमित रहनु परेको छ ।

त्यसो त नेविसंघको अधिवेशन प्राय विवादित नै हुन्छ । विद्यार्थी नेता भएर क्याम्पस तह र जिल्ला तहमा यथावत र पुनः नेतृत्वमा रहने आंकक्षी भएका तथा पार्टीको हस्तक्षेपका कारण विद्यार्थीहरुको अधिवेशन हुन नसकेको र क्याम्पसमा अध्ययनरत विद्यार्थी नेताले स्थान पाउन नसक्ने अवस्था भएका कारण अधिवेशन विवादित हुन पुग्दछ । यसले विद्यार्थी नेताहरुमा सकारात्मक उर्जालाई क्षय गरिदिने गरेको पाईन्छ ।

नेविसंघको यस्तै सहि व्यवस्थापन अभावले गर्दा एकतर्फ विद्यार्थीको उर्जाशिल समय क्याम्पसमा अल्झिएको छ भने अर्का तर्फ देशले विभिन्न कार्य क्षमता भएका यूवाबाट काम लिन सकेको छैन । त्यसैले पनि राजनीति दिगो किसिमको सम्भावना नभएपछि आफ्नो भविश्यको खोजी गर्दै धेरै यूवाशक्ति विदेश पलायन भईरहेका छन ।

विशेष गरी ठूला शहर केन्द्रीत र ठूला क्याम्पसको हकमा यो समस्या अझै रहेको छ । ठूला क्याम्पसको विधार्थी नेता भने विभिन्न ठेक्कापट्टा तथा दिनभरको समयमा क्याम्पसमा राजनीतिकका नाममा समय व्यत्तित गर्दा निरन्तर क्याम्पसमा अध्ययनरत रही विद्यार्थीहरुको हक अधिकारका लागि भूमिका निर्वाह गर्ने विद्यार्थी नेताहरुले नेतृत्व पाउनेमा आशंका पैदा भईरहेको छ । यसले गर्दा क्याम्पस अवधिमा आफ्नो राजनीतिक यात्रा तय गरी राजनीति जिवनमा लागेकाहरुको समेत भविश्य अन्यौल हुन्छ । लामो समय क्याम्पसमा व्यत्तित गर्दा त्यसबाट पार्टी, संगठन र देशको लागि कुनै उपलब्धि हुनेवाला छैन । त्यसैले समयक्रम अनुसार सबै युवाले राजनीतिक यात्रालाई चलायमान बनाउनु पर्दछ । यसतर्फ पार्टी नेतृत्वको भुमिका र जिम्मेवारी वहन गर्नु पर्दछ । यति भनि रहँदा यसको प्रमुख कारण नेतृत्वपंत्तिलाई नै जान्छ । युवाहरुलाई परिचालित गर्न नसक्नु र आफु निकटलाई मात्र स्थान दिने प्रवृत्तिले यूवा जमात नैराश्य बन्न पुगेको छ ।

सबै युवालाई परिचालित गरी पार्टी र देशको वृहत्तर विकासमा लगाउनु एउटा राजनेताको भुमिका हुन्छ । आज हामिसँग  नेता छन्, तर राजनेता पाएको अवस्था छैन, हामीले राजनेताको नाम लिदै गर्दा महामानव विपी कोइरालाको नाम अग्रपंत्तिमा लिन्छौ त्यसै गरी मदन भण्डारी, मनमोहन अधिकारी, गणेशमान सिंह, कृष्णप्रसाद भट्टाराई लगायत राजनेताको नाम लिन्छौ । जसले आफुभन्दा देश र पार्टीलाई माथि राखे र नेपाल र नेपालीको हितका पक्षमा काम गरेका थिए ।

युवा राजनीति गर्ने साथिहरुलाई मेरो एउटा आग्रह हामी के का लागि र कस्का लागि राजनीतिकमा लागेका छौ ? व्यक्तिगत स्वार्थका लागि हो ? वा समाज र राष्ट्रका लागि हो ? व्यक्तिका लागि हो भने एउटा समितिमा लामो समय व्यत्तित गर्दा हामीमा कत्तिको वौद्धिक व्यक्तित्व विकास भयो वा हामीले कतिको रचनात्मक कार्य गर्यौ ? त्यसबाट समाजले कत्तिका उपलब्धि हासिल गर्यो, यसतर्फ ध्यान दिन जरुरी छ । मेरो भुमिकाले मेरो व्यक्तिगत विकासका साथै समाज र राष्ट्रलाई के फाईदा भयो बुझ्न जरुरी छ ।

यदी साँच्चिकै देश र समाजको लागि केही गर्नु छ, भने पहिला आफैबाट शुरुवात गर्नु पर्दछ । आफुमा भएका कमीकमजोरीलाई सच्याउँदै लैजाउनु पर्दछ । राजनीति एक समाज सेवा हो र हामीले यसैमा सकारात्मक सोचका साथ सामाजिक हितका लागि कार्य गर्नु पर्दछ ।

राजनीति भनेको एउटा गुण्डागर्दी गर्ने र विभिन्न ठाउँमा चन्दा संकलन गर्ने थलोको रुपमा विकसित भइरहेको छ । यसबाट समाज विचलित भइरहेको अवस्था छ । समाजमा दण्डहिनताको अन्त्य गर्नका लागि यूवाशक्तिलाई सकारात्मक सोचबाट अगाडी लैजानु पर्दछ ।

अन्तरआत्मादेखि राजनीतिक भाव पैद भएको हुनुपर्दछ । कसैको वहकाउ र संरक्षणमा राजनीति गर्नु भनेको आफ्नो भविष्य मात्र होईन समाज र राष्ट्रको लागि हितकर नहोला । — विवेक लामा

(लेखक नेपाली विद्यार्थी संघ, शंकरदेव क्याम्पसका ईकाइ सभापति हुन ।)

प्रतिक्रिया