बुधबार, वैशाख १२, २०८१

अभिलेखमा ४०० जना, कक्षामा ४ जना मात्रै !

नेपालखोज २०७६ मंसिर २२ गते ९:२३

२२ मंसिर, सिरहा । भगवानपुर गाउँपालिका–४ विश्वासपट्टीस्थित अधारभूत विद्यालयको अभिलेखअनुसार कक्षा १ देखि ८ सम्म तीन सय ८० विद्यार्थी छन्। तर अभिलेखअनुसार विद्यार्थी कक्षामा देखिएनन्।

नागरिककर्मी विद्यालय पुग्दा रोशनकुमार कामैत, मुक्तिकुमारी पासवान, रोहितकुमार कामैत र आरतीकुमारी कामैत मात्र थिए। बाँकी कक्षाकोठा बन्द थिए। उनीहरू कक्षा १ का थिए। अभिलेखमा भएका अरू विद्यार्थी विद्यालयमा देखिएनन्। भेटियो त केवल विद्यार्थीको अभिलेख भरिएको रजिस्टर र विद्यालयको चौरमा गफ हाँकिरहेका शिक्षक। रजिस्टरमा नाम भएका विद्यार्थी पढ्न आउँदैनन्। पढ्न नआए पनि उनीहरुको नाम रजिस्टरमा कायमै छ। परीक्षा हुँदा र माथिबाट कोही अनुगमनका लागि आउने जानकारी पाउँदा मात्र विद्यार्थीलाई उपस्थित गराउने गरिएको एक शिक्षकले बताए।

विद्यालयमा पढाइ नियमित नहुँदा यस्तो अवस्था आएको हो। गाउँकै विद्यालयमा पढाइ नहुँदा सीमावर्ती विश्वासपट्टीका बालबालिकालाई सीमावर्ती भारतीय विद्यालयमा पढ्न जानुपर्ने बाध्यता छ। बिहार मधुवनीको लौकाहा बजारस्थित राजकीय कन्या माध्यमिक विद्यालयमा पढ्ने विश्वासपट्टीकी छात्रा कविताकुमारी पण्डित भन्छिन्, ‘गाउँको विद्यालयमा कहिल्यै पढाइ हुन्न। नजिक छाडेर टाढाको विद्यालय जानु रहर होइन, बाध्यता हो।’ यो खबर आजको नागरिक दैनिकमा छ।

प्रतिक्रिया