शुक्रबार, वैशाख १४, २०८१

२ महिनापछि प्रहरीको महानिरीक्षक को ?

नेपालखोज २०७६ मंसिर २३ गते १७:१२

२३ मंसिर, काठमाडौं । अहिलेको कानूनमा कुनै हेरफेर नभए २ महिनापछि नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले अवकाश पाउने छन् । दुई महिनापछि करिब ८० हजार प्रहरीको कमाण्ड कसले सम्हाल्छ भन्ने चासो प्रहरीमा बढेको छ ।
आईजिपी खनालसँगै तीनै जना एआईजी र उनका ब्याचका डिआईजीले एकैपटक अवकाश पाउने भएकाले त्यो अवस्था ठाकुर ज्ञवाली र तारिणी लम्साल सबैभन्दा सिनियर डिआईजी हुनेछन् । त्यसकारण उनीहरु नै आईजिपीका प्रमुख दाबेदार हुन् ।

दुईमध्ये ज्ञवालीको अहिले सत्तारुढ दलसँग बलियो सम्बन्ध छ । त्यसकारण धेरैले उनलाई नै भावी आईजिपीका रुपमा हेरेका छन् । तर पनि उनको प्रधानमन्त्री केपी शर्मा ओलीसँग राम्रो सम्बन्ध भने नरहेको स्रोत बताउँछ । नेकपाका महासचिव विष्णु पौडेल भने ज्ञवालीलाई नै आईजिपी बनाउने लबिङमा छन् । डिआईजी लम्सालले पनि नेताहरुसँग भेटघात बाक्लो बनाएका छन् ।

त्यसो त प्रहरीभित्र प्रहरी महानिरीक्षककै कार्यकाल थप हुने, एआईजी पुष्कर कार्कीलाई आईजिपी बनाउने हल्ला पनि चलेका छन् । त्यसका लागि लबिङ पनि हुँदै आएको स्रोत बताउँछ ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले ३० वर्षे सेवाहदका कारण अवकाश पाउन लागेका हुन् । मन्त्रिपरिषद् बैठकबाटै सेवाहदसम्बन्धि व्यवस्था हेरफेर गर्न सकिने भएकाले त्यो सम्भावना पनि छ । यसअघि राष्ट्रिय अनुसन्धान विभागमा सरकारले ३० वर्षे सेवाहद हटाइसकेको छ । नेपाल प्रहरीमा पनि सेवाहद हटाउन प्रयास भइरहेको छ । माघ २९ गते यससम्बन्धि छिनोफानो हुने छ ।

प्रतिक्रिया