शुक्रबार, वैशाख ७, २०८१

दूतावासको लापरबाहीका कारण २१ नेपाली कामदार कालोसूचीमा

नेपालखोज २०७६ मंसिर २४ गते ७:१४

२४ मंसिर, काठमाडाैं । वैदेशिक रोजगारीका लागि दुई वर्ष पहिले कामदार भिसामा कुवेत पुगेका २१ युवा मेनपावर र त्यहाँस्थित नेपाली दूतावासको लापरबाहीका कारण कालोसूचीमा परेर फर्किएका छन्। गएको एक वर्षसम्म कम्पनीले भिसा लगाएर काम लगाएको भए तापनि कम्पनी विगत एक वर्षदेखि बन्द हुँदा उनीहरू बन्धक जस्तै बनेका थिए।

नेपालबाट कामदार भिसा लिएर गएका उनीहरू कुवेती कम्पनीले कामदारको भिसा नलगाइदिएपछि दूतावास र मेनपावरको सम्पर्कमा आएका थिए। दूतावासले ‘हुँदै छ’ भन्ने र मेनपावरले कल ब्लक गर्ने गरेका कारण उनीहरू भिसा समय सकिएका कारण बन्धक जस्तै भएर बस्नुपरेको थियो।

‘हामीले पटक–पटक सम्पर्क गर्न खोज्यौं तर मेनपावर कम्पनीले हाम्रो कल नै ब्लक गरेर बस्यो’, पीडितमध्येका विशाल धामीले भने– ‘मेनपावर पछिको हाम्रो गुहार्ने निकाय नेपाली राजदूतावास थियो, तर हामीसँग भिसा नभएको हुँदा दूतावास गइराख्ने कुरा भएन, फोनबाट फलोअप गर्दा हुन्छ मात्रै भनियो, अन्तिममा कुवेत नै फर्किन नपाउने गरी घर फर्किनुपर्यो ।’

कुवेतमा रहेको टेस्टी फुड एन्ड अल रिप रेस्टुरेन्टको कामका लागि भन्दै ग्लोबल राइजिङ प्लेटिमेन्ट मेनपावरमार्फत उनीहरू कुवेत पुगेका थिए। गएको तीन महिना प्रवेशका लागि प्रदान गरिएको भिसाले काम गर्यो, त्यसपछि एक सालको भिसा लगाएको कम्पनीले पुनः भिसा थप गरिदिएन।

शुरूको तीन महिना समयमै तलब दिएको कम्पनीले त्यसपछि तलब रोक्न थालेपछि कामदार त्रसित बन्दै गएका थिए। अन्ततः उनीहरू बिनातलब नेपाल फर्किए तर कहिलै कुवेत जान नपाउने गरेर। करिब दुई वर्ष कुवेत बिताएका उनीहरूले ८ महिनाको तलबसमेत पाएनन्।

प्रतिक्रिया