बुधबार, वैशाख १२, २०८१

कोशी अस्पतालमा कर्मचारी भर्नामा मन्त्रीको हस्तक्षेप, नातागोता नै कर्मचारी

नेपालखोज २०७६ मंसिर २४ गते १०:३०

२४ मंसिर, विराटनगर । कोशी अस्पताल विराटनगरमा प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेको आदेशमा कर्मचारी भर्ना गरेको राष्ट्रिय सतर्कता केन्द्रले निष्कर्ष निकालेको छ । अस्पतालले गत आर्थिक वर्षमा अस्पतालका लागि आवश्यक कर्मचारी भर्ती गरेको थियो । यसरी गरिएको कर्मचारी भर्ना अपारदर्शी भएको भन्दै राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी परेको थियो ।

उजुरी पछि यसबारे छानबिन गरेको केन्द्रले भर्ना प्रक्रिया पारदर्शी नभएको निष्कर्ष निकालेको हो ।
मन्त्री घिमिरेले ०७५ भदौमा सचिवालयमार्फत अस्पतालमा कर्मचारी नियुक्ति गर्न १४ जनाको नाम लिखित पत्रसहित पठाएका थिए । एक वर्षपछि प्रतिवेदन सार्वनिक गरेको केन्द्रले अस्पतालमा अनावश्यक राजनीतिक हस्तक्षेप हुने गरेको उल्लेख गरेको छ ।

मन्त्रीले सिफारिस गरेकामध्ये १० जना कर्मचारी नियमित काममा छन् । केन्द्रले नातागोताका आधारमा कर्मचारी नियुक्त गरेको पाइएको उल्लेख गर्दै आइन्दा कर्मचारी पारदर्शी ढंगबाट गर्न सुझाव दिएको छ । सतर्कता केन्द्रको प्रतिवेदनमा वविता सुवेदी, भोलानाथ ढुंगेल, मैयादेवी मैनाली, डम्बरकुमारी पोखरेल, सरद अधिकारी, विमला पौडेल, दयाराम यादव, शिरिष साह र सन्ध्याकुमारी साह नियमित हाजिर भएको उल्लेख छ ।

नायव सुब्बाको नियुक्ति फाइल गायब
कोशी अस्पतालका हर्तकर्ता मानिने नायव सुब्बा नवराज लुइँटेलको नियुक्ति फाइल नै गायब भएको छ । कर्मचारी भर्नामा चलखेल गरेको आरोप खोप्दै आएका लुइँटेल नियुक्तिको फाइल नै गायब भएको हो ।

सतर्कता केन्द्रमा लुइँटेलको नियुक्ति छानविन गर्न भन्दै उजुरी परेको थियो । सतर्कता केन्द्रले अस्पताल प्रशासनले लुइँटेल नियुक्तिको फाइल उपलब्ध नगराएको जनाएको छ । लुइँटेल अस्पताल विकास समितिबाट नियुक्ति पाएका कर्मचारी हुन् । उनको नियुक्तिको फाइल नभेटिए पनि ०६४ मा स्थायी बनेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा पुरानो नियुक्ति भएका कारण फाइल नभेटिएको कर्मचारीले बताएको उल्लेख छ ।

प्रतिक्रिया