शुक्रबार, चैत १६, २०८०

कोहलपुरमा सडक सुरक्षाको बहस

नेपालखोज २०७६ मंसिर २६ गते १५:१७

२६ मंसिर, बाँके । गएको आइतबार बालिका प्रकृति चन्दलाई ट्रकले ठक्कर दिएपछि दुई दिन कोहलपुर बजार तनावपूूर्ण बन्यो । घाइते बालिकाको काठमाडौँमा उपचार भइरहेको छ । कोहलपुरका स्थानीयवासीले उक्त दिनलाई कालो दिन भनिरहेका छन् । दुर्घटनाको आलो घाउ निको हुन अझै समय लाग्ने छ ।

विद्यालय जान हिँडेकी बालिका प्रकृतिलाई ट्रकले ठक्कर दिएपछि दुई दिनपछि सामान्य बनेको कोहलपुरमा अहिले सडक सुरक्षाका विषयमा बहस हुन थालेको छ । उक्त घटना राष्ट्रिय मुद्दाकै रुपमा स्थापित भएसँगै सडक सुरक्षाका विषयमा चासो, चिन्ता र बहस शुरु भएको हो । यस्ता चासो र चिन्ताका बीचमा कोहलपुरमा दृष्यावलोकन केन्द्र बनाउने कि आकाशे पुल ? भन्नेजस्ता बहस सतहमा देखिएका छन् ।

कोहलपुर नगरपालिकाले ठूलो धनराशि खर्चेर शहरकै मुख्य ठाउँमा दृष्यावलोकन केन्द्र बनाउने योजना अघि सारेको छ । आइतबारको घटनापछि कोहलपुरवासीले उक्त योजनामा सरकारी पैसा खर्चिनु भन्दा सडक सुरक्षाजस्ता प्रभावकारी काम गर्न सुझाव दिएका छन् । गत आइतबारको घटनापछि कोहलपुरमा थप दुई वटा दुर्घटना भएका छन् । शहरमा जनघनत्व बढेसँगै सडक सुरक्षा चुनौती बनिरहँदा आकाशे पुलको योजना अर्थहीन भएको कोहलपुरवासीको भनाइ छ ।

कोहलपुरका स्थानीय एवं होटल व्यवसायी देवानन्द अर्याल भन्नुहुन्छ, “कोहलपुर नगरपालिकाले जनताले तिरेको करबाट अनावश्यक रु ११ करोड खर्च गरेर न्यूरोड गोलपार्कमा दृष्यावलोकन केन्द्र बनाउनुभन्दा दिनहुँजसो दुर्घटना हुने न्यूरोड चोक, एनटिभी रोड चोक, धिताल पम्प, साझा चोक, विद्युत् चोक र त्रिभुवन माध्यमिक विद्यालय अगाडि पैदलयात्रुका लागि आकाशे पुल बनाउन जरुरी छ । यसमा सम्बन्धित निकायको ध्यान जाओस् ।” कोहलपुरका स्थानीयवासी एवं साहित्यकार शङ्कर अशान्त पनि अर्यालको सुझावप्रति सहमत हुँदै भन्नुहुन्छ, “एउटै जोकले बारबार हसाउन सकिन्न ! भ्यूटावरको थोरबहुत प्यास रोहिणीमै मेट्न सकिन्छ । बिना अर्थको भ्यूटावरको अहिले आवश्यकता छैन । त्यही बुटवलमा २०० मिटरको फरकमा बनेका आकाशे पुलले दिएको रौनक र सवारी सुरक्षा निकै प्रभावकारी देखिएको छ । अझै बिग्रेको छैन, नगरपालिकाले ध्यान देओस् ।”

आकाशे पुल नहुँदा सरासर बाटो काट्न मुस्किल पर्ने र पर्खिएर बस्नुपर्दा कतिपय कामहरु छुट्ने गरेको उहाँको गुनासो छ । कोहलपुर र नेपालगञ्जका मुख्य सडकका धेरै स्थानमा आकाशे पुल बनाउनै पर्ने आवश्यकता रहेको पैदलयात्रुको भनाइ छ । नेपालगञ्ज उपमहानगरपालिकाले समेत आकाशे पुल बनाउने योजना अघि सारेको छ ।

कोहलपुरमा पनि बढ्दो शहरीकरण र सवारी चापका कारण सडक सुरक्षाका लागि आकाशे पुल आवश्यकता महसुस गरिएको छ ।

प्रतिक्रिया