शुक्रबार, वैशाख ७, २०८१

ट्राफिक व्यवस्थापनका लागि काठमाडौं महानगरले चालकलाई तालिम दिने

नेपालखोज २०७६ मंसिर २६ गते १६:५४

२६ मंसिर, काठमाडौँ । काठमाडौं महानगरपालिकाले ट्राफिक व्यवस्थापनलाई सुरक्षित र मर्या्दित बनाउन सवारी चालकलाई सचेतनामूलक तालिम दिने भएको छ । सवारी चालकको व्यवहारमा परिवर्तन गर्नका लागि उनीहरूलाई योजनाअनुरुप प्रशिक्षण दिन लागिएको हो । पहिलो चरणमा करीब २ हजार ५०० सवारी चालकलाई तालिम दिइने महानगरपालिकाले जनाएको छ ।

तालिममा उनीहरूलाई यात्रुसँग गनुपर्ने मीठो व्यवहार, कहाँ रोक्ने, कसरी यात्रु ओराल्ने भन्ने कुरा व्यवहारमा लागू गराउनका लागि प्रशिक्षण दिन लागिएको महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले जानकारी दिए । सार्वजनिक यातायात चालकलाई दिइन लागिएको प्रशिक्षणका लागि काठमाडौं उपत्यकामा सञ्चालित विभिन्न यातायात व्यवसायी प्रालिलाई पत्राचार गरिएको उनको भनाइ छ ।

प्रालिले सहभागी गराउनका लागि चालकको नामावली पठाएपछि महानगरले तालिमको आयोजना गर्नेछ । सचेतनामूलक तालिमपछि यात्रु र चालकबीचको सम्बन्ध सुमधुर हुनुका साथै दुर्घटनासमेत न्यूनकिरण हुने विश्वास गरिएको छ ।

काठमाडौंका सडकमा गुड्ने सवारी साधनमध्ये १ दशमलव ५ प्रतिशत यात्रु मात्रै साइकलमा यात्रा गर्ने गरेका छन् । अन्य सबै निजी वा सार्वजनिक सवारीसाधनको प्रयोग गर्ने गर्छन् । भौगोलिक अवस्था, जलवायु र आकारका दृष्टिले काठमाडौं उपत्यका पैदल यात्रा तथा साइकल प्रयोगका लागि अनुकूल मानिन्छ तर यसको अभ्यास अत्यन्तै कम भएको छ भने सार्वजनिक सवारी साधनको बढ्दो प्रयोग र अस्वस्थ प्रतिस्पर्धाका कारण सवारी दुर्घटना दिनहुँ जस्तै हुने गरेका छन् ।

छोटो तथा मध्यम दूरीका लागि शहरका प्रायःजसो सबै ठाउँमा सजिलै हिँडेर र साइकलबाट पुग्न सकिन्छ । उपयुक्त भौतिक पूर्वाधार तथा नीति नियमको अभावमा यस्ता वातावरणमैत्री यातायात प्रणाली अवलम्बन गर्न शहरवासीलाई कठिनाइ भइरहेको छ ।

प्रतिक्रिया