मंगलबार, वैशाख ११, २०८१

आजको मौषमः देशका अधिकांश क्षेत्रमा सामान्य बदली, साँझबाट क्रमिक सुधार हुने

नेपालखोज २०७६ मंसिर २९ गते ८:१६

२९ मंसिर, काठमाडौँ । नेपालमा अहिले पनि पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायम रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यसकै प्रभावका कारण हाल देशका अधिकांश क्षेत्रमा सामान्यदेखि पूर्ण बदलीको अवस्था रहेको मौसमविदले बताएका छन् ।

आइतबार (आज) दिनभर देशका अधिकांश क्षेत्रमा सामान्य बदली हुनेछ । पश्चिमी क्षेत्रका थोरै स्थान र मध्य तथा पूर्वका पहाडी क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

यस्तै आइतबार (आज) राति देशका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रही बाँकी क्षेत्रमा आंशिक बदली हुनेछ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा राति पनि हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको जनाइएको छ ।

काठमाडौँ उपत्यकासहित देशका धेरै स्थानमा शनिबार दिनभरजसो नै घाम लागेको थियो । तर आइतबार अधिकांश रुपमा बदलीको अवस्था नै रहने मौसमविद मञ्जु बासीले जानकारी दिएकी छन् । काठमाडौँ उपत्यकामा बेलुका तिर घाम लाग्ने सम्भावना रहे पनि दिनभर भने बदलीकै अवस्था हुनेछ । तर आइतबार बेलुकादेखि मौसममा क्रमिक सुधार हुने देखिएको छ । बिहान ८ डिग्री रहेको काठमाडौँ उपत्यकाको तापक्रम दिउँसो बढेर १६ देखि १८ डिग्रीसम्म पुग्न सक्नेछ ।

प्रतिक्रिया