बिहीबार, वैशाख ६, २०८१

सडक दुर्घटना न्यूनीकरणका लागि मुख्यमन्त्री पौडेल छलफलमा

नेपालखोज २०७६ मंसिर ३० गते १८:४४

३० मंसिर, काठमाडौँ । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशभित्र दिनहुँजसो भइरहेको सवारी दुर्घटना न्यूनीकरणका लागि पहल थालेका छन्।

पौडेलले सोमबार सरोकारवालाको विशेष बैठक बोलाएर सवारी दुर्घटनामा परी दिनहुँ मान्छे मारिँदा र घाइते भइरहँदा सरकार चुप लागेर बस्न नसक्ने भन्दै तत्काल रोकथामका उपाय अपनाउन निर्देशन दिए।

बैठकमा प्रदेशसभा सदस्य दीपक निरौलाले दुर्घटना न्यूनीकरण गर्न यातायात व्यवस्था कार्यालय तथा ट्राफिक प्रहरी र सडक डिभिजन कार्यालय समेतको तालमेलमा विशेष पहल गरिनुपर्ने बताए ।

भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव तेजराज भट्टले प्रदेश ३ को राजधानी हेटौँडा र अन्य जिल्लामा बढिरहेको दुर्घटना कम गर्न विशेष कार्यदल गठन गरेर रायसुझाव लिइने बताए। प्रदेश–३ प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक शेरबहादुर बस्नेतले पुरानो गाडी नियन्त्रण गरेर तथा सिट क्षमता भन्दा बढी यात्रु बोक्न नदिएर दुर्घटनालाई कम गर्न प्रहरी लागिपरेकोे बताए।

सो अवसरमा जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक मुकेशकुमार सिंह र प्रदेश ३ ट्राफिक प्रहरी कार्यालयका निमित्त प्रमुख जीतेन्द्रकुमार बस्नेतले सडकको खराबी, सवारी चाप तथा लामो दूरीमा सवारी चालक परिवर्तन गरिनुपर्ने नियमको पूर्णरुपमा कार्यान्वयन गराउन नसकिँदा दुर्घटना वृद्धि भएको उल्लेख गरे।

सिन्धुपाल्चोक दुर्घटनाले स्तब्ध बनायोः मन्त्री नेपाल

सिन्धुपाल्चोकमा भएको सवारी दुर्घटनामा परी ज्यान गुमाएकाप्रति प्रदेश– ३ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुणप्रसाद नेपालले दुःख व्यक्त गरेका छन्।

सोमबार एक शोक सन्देश प्रकाशित गर्दै मन्त्री नेपालले दुर्घटनामा परी १५ जनाको ज्यान गएको घटनाले आफू स्तब्ध र मर्माहित भएको बताउँदै दुर्घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलि तथा मृतकका परिवार तथा आफन्तमा समवेदना प्रकट गरे । सन्देशमा मन्त्री नेपालले घोइतेको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरे ।

प्रतिक्रिया