शुक्रबार, चैत १६, २०८०

पुष लाग्दै देशभर चिसो ह्वात्तै बढ्यो, तराईमा बाक्लो हुस्सु नहटदा जनजीवन प्रभावित

नेपालखोज २०७६ पुष २ गते ८:३१

२ पुष, काठमाण्डौँ । पुषको पहिलो हप्ताबाटै देशभरको चिसो ह्वात्तै बढेको छ । देभरको मौषममा परिवर्तन आइ गत शुक्रबार कतै वर्षा त कतै हिमपात परेको थियो । अहिले बर्षा र हिमपात रोकिएपछि अहिले देशैभर चिसो झन् बढेको हो ।
काठमाण्डौ उपत्यका र तराईसहित देशका धेरै ठाउँमा केही दिनदेखि राम्रोसँग घाम लाग्न सकेको छैन ।

तराईमा मंगलबार बिहानदेखि लागेको हुस्सु नहट्दा र देशका अन्य ठाउँमा पनि बिहानपख बाक्लो हुस्सु लागेर चिसो बढ्दा जनजीवन प्रभावित भएको छ ।
तराईमा हुस्सुसँगै चिसो हावा चलेपछि धेरैजना घरबाट बाहिर निस्कन सकेका छैनन् । चिसो बढेसँगै बजारमा पनि चहलपहल कम हुँदै गएको छ । चिसोका कारण वृद्धवृद्धा, बालबालिका र मजदुर धेरै समस्यामा परेका छन् ।

तराईमा बाक्लो हुस्सुका कारण चिसो हावा चले पनि यसलाई शितलहर भन्न नमिल्ने मौसमविद् वरुण पौडेलले बताए । उनका अनुसार शितलहर हुनका लागि ४८ घण्टा लगातार हुस्सु वा कुहिरो लाग्नुपर्ने र औसतभन्दा ५ देखि ६ डिग्री सेल्सियस तापक्रम घट्नु पर्छ । अहिले यो अवस्था आइनसकेको तर चिसो चाहिँ बढेको उनले बताए ।

यसैबीच काठमाण्डौ उपत्यकामा आज बिहानको न्यूनतम तापक्रम यो वर्षकै सबैभन्दा कम ३ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ । मंगलबार बिहान काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस मापन गरिएको थियो । अझै तापक्रम घट्न सक्ने मौसमविद् पौडेलले बताए ।

प्रतिक्रिया