बिहीबार, चैत १५, २०८०

चीनको नयाँ नीतिले नेपालको खाद्यवस्तुको निर्यात रोक्यो

नेपालखोज २०७६ पुष २ गते १०:०७

२ पुस, काठमाडौं । चीनले नेपालबाट आफ्नो देशमा आयात हुने वस्तुमा चाइनिज भाषामै लेवल अनिवार्य गरेपछि दुई देशबीच नयाँ व्यापारिक मुद्दा उब्जेको छ । चीनको नयाँ नीतिले नेपालबाट खाद्यवस्तुको निर्यात रोकिएको छ ।

नेपाल र चीनबीच वाणिज्य तहमा खाद्य वस्तु आयात र निर्यातमा सहजीकरण गर्न भएको सम्झौता विपरित चीनीयाँ पक्षले नयाँ नियम लागू गरेको हो । खाद्य वस्तुको लेवलमा लेखिने भाषाकै विवादले दुई देशबीच हुने खाद्य वस्तु आयातरनिर्यात तीन महिनादेखि ठप्प बनेको रसुवा भन्सार कार्यालयले जनाएको छ ।
चिनीयाँ भाषामा लेभल नलेखिएको भन्दै नेपाली पक्षले निर्यात गर्न लागेको चाउचाउ, बिस्कुट, चुईगम, पिठो, चकलेट जस्ता खाद्यन्नको भन्सार जाँच पास चीनीयाँ पक्षले ठप्प बनाएको रसुवा भन्सार प्रमुख पुण्य बिक्रम खड्काले जानकारी दिए ।

‘भदौ अघिसम्म नियमित आयात निर्यात भईरहेको त्यस्ता खाद्य वस्तु चार महिना देखि रोकिएका छन्,’ भन्सार प्रमुख पुण्यबिक्रम खड्काले भने । खड्काका अनुसार सिमा क्षेत्रका चिनीयाले प्रयोग गर्ने वस्तुमा उल्लेखित नेपाली र अंग्रेजी भाषाको लेवल नबुझिने भएकाले आयात रोकेको जवाफ चिनीयाँ पक्षले दिएका छन् । चिनीयाँ पक्षले खाद्यान्नमा चीनीयाँ लेभल नभएकै कारण रोकिए दिए पछि नेपाली पक्षले पनि चिनीयाँ भाषामा मात्रै लेभल भएका वस्तु आयात रोक्न थालेको छ ।
नेपालको गुणस्तर र क्वारेन्टाईन कानुनले नेपाली वा अन्तर्रा्ष्ट्रिय भाषा अंग्रेजीमा लेभल उल्लेख नभएको वस्तु आयातमा कडाइ गर्न सक्ने व्यवस्था गरेको छ । अंग्रेजी भाषामा वा नेपाली लेभल नभएका बिस्कुट, चकलेट, ब्रेडका परिकार, मसला, कुखुराको तारेको मासु तथा माछाका परिकारहरुको भन्सार पास नगरिएको रसुवा भन्सार कार्यालयले जनाएको छ ।

‘खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र क्वारेन्टाईनले आफ्नो अनुमतिबिना भन्सार पास नगर्न गरेको आग्रहपछि भन्सार पास रोकिएको छ,’ भन्सार प्रमुख खड्काले भने । केही समयअघि दुई देशका वाणिज्य अधिकारीबीच तातोपानी नाकामा भएको छलफलमा अंग्रेजी भाषाको लेवल मान्ने विषयमा चिनीयाँ पक्षले सैद्धान्तिक सहमति जनाएको थियो । माथिल्लो तहमा भएको सहमति कार्यान्वयन तहसम्म नआईपुगेको भन्सार प्रमुख खड्काले बताए ।

निकासी नहुने बितिक्कै व्यवसायीले वस्तुहरु फिर्ता लैजाने भएकाले निकासी नभएको वस्तुको परिमाण भने यकिन गर्न नसकिएको भन्सार कार्यालयले जनाएको छ ।
यता तातोपानी भन्सार नाकाबाट भने वस्तुको निर्यात ठप्प रहेको भन्सार कार्यालयले जनाएको छ । ‘पैठारी भई रहेता पनि निकासी सून्य छ,’ तातोपानी भन्सार कार्यालयका सूचना अधिकारी केशव ओलीले भने ।

प्रतिक्रिया