शनिबार, वैशाख ८, २०८१

‘वाटरपार्क’ परियोजना अघि बढाइने

नेपालखोज २०७६ पुष ३ गते १८:५९

३ पुस । नेपालगञ्ज नगर विकास समितिले यहाँको वाटरपार्क परियोजनालाई अघि बढाउन महत्वपूर्ण निर्णय गरेको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुखसमेत रहनुभएका नगर समितिका अध्यक्ष डा धवलशम्शेर राणाको अध्यक्षतामा बसेको समितिको बैठकले परियोजनाअन्तर्गत अस्थायी लालपुर्जाका लागि सूचना आह्वान गर्ने निर्णय गरेको छ ।

वाटरपार्कको जग्गा बिक्री वितरणका लागि मूल्य निर्धारण गर्न नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापामगरको संयोजकत्वमा मूल्य निर्धारण समिति गठन गरेको छ । नगर विकास समितिले वाटरपार्क क्षेत्रमा अधिग्रहण गरेको जग्गाको प्रमाणपुर्जा तयार गरिसकेको छ । वाटरपार्क क्षेत्रका जग्गाधनीले समितिले तयार गरेको डिपिआरअनुसार घर संरचना निर्माण गर्नुपर्ने जनाइएको छ ।

नगरपालिकाको यो निर्णयपछि लामो समयको पर्खाइमा रहेको यहाँको बहुप्रतिक्षित ठूलो परियोजनाभित्रको वाटरपार्क निर्माणको काम अब धमाधम हुने नगरपालिकाका प्रवक्ता प्रमोद रिजालले बताए । वाटरपार्कको कूल ६५ बिघा क्षेत्रफलमध्ये १० बिघा तलाउले ओगटेको छ । तलाउलाई नौकाबिहार र पौडी पोखरीका रूपमा विस्तार गरिनेछ । पार्कमा आकर्षक र मनमोहक पूmलबारी, बालउद्यान, व्यापारी प्रयोजनका पसल कोठालगायतका संरचना निर्माण हुने प्रवक्ता रिजालले जानकारी दिए ।

नेपालगञ्ज नगर विकास समितिले निर्माण गर्ने वाटरपार्क क्षेत्रभित्र १८ देखि छ मिटरसम्मको पक्की सडक निर्माण गरिनेछ । यसका साथै नेपालगञ्जको सुर्खेत सडकदेखि बर्दियाको गुलरिया सडक जोड्ने २१ मिटर चौडाइको मुख्य सडक पनि पार्कसँग जोडिनेछ ।

नेपालगञ्ज वाटरपार्क निर्माणको योजना १२ वर्षअघि तयार गरिएको थियो । विसं २०६५ मा शुरु भएको यो योजना शुरुआती चरणमा जग्गा अधिग्रहणको क्रममा स्थानीयवासीसँग कुरा नमिल्दा यसको निर्माण झण्डै पाँच वर्ष पर धकेलियो । अहिले जग्गा अधिग्रहणमा कुरा मिलेपछि निर्माणको कामले गति लिने विश्वास गरिएको छ । “यो परियोजनाको अनुमानित लागत रु ७० करोड बढी हो । अबको चार वर्षभित्र निर्माण सक्ने हाम्रो लक्ष्य छ”, नेपालगञ्ज नगर विकास समितिका अध्यक्षसमेत रहनुभएका नगरप्रमुख डा राणाले बताए ।

प्रतिक्रिया