बिहीबार, वैशाख १३, २०८१

गुटगत कुरा नमिल्दा फेरी स¥यो कांग्रेसको केन्द्रीय समिति बैठक

नेपालखोज २०७६ पुष ४ गते १५:३२

४ पुस, ललितपुर। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक फेरी स्थगित भएको छ । पार्टी भित्रको आन्तरिक विवादका कारण बैठक फेरी स्थगित गरिएको हो । अब अर्को बैठककालागि पुस १० गते समय तोकिएको छ ।

सहमतिका लागि भन्दै २ दिन स्थगित गरी शुक्रबारका लागि बोलाइएको बैठक पनि सहमती जुट्न नसकेपछि पुस १० गते बस्नेगरी स्थगित गरिएको कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

प्रवक्ता शर्माले पार्टीको १४औँ महाधिवेशनको कार्यतालिका, केन्द्रीय विभाग गठन, भ्रातृ संस्था, अन्य साङ्गठनिक विषयमा आन्तरिक सहमति गरी अर्को बैठक पुस १० गते बस्ने बताए । यी विषयहरुमा पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच सहमतिका प्रयास जारी छ । संस्थापन र इतर पक्षबीचमा भ्रातृ संगठन र विभाग गठनमा सहमति हुन नसक्दा केन्द्रीय समिति बैठक स्थगित हुँदै   आएको छ ।

संस्थापन पक्षले भ्रातृ संगठन र मुख्य विभाग पाउनुपर्ने अडान लिएपछि इतर पक्षले त्यसलाई अस्वीकार गर्दै आएको छ । पार्टी सभापति शेरबहादुर देउवाले पेलेरै जान खोजेको भन्दै इतर पक्षले यसअघिका बैठक बहिस्कार गर्दै आएको थियो । यस बीचमा सहमतिका लागि विभिन्न प्रयास भएपनि दुबै पक्षले अडान नछाडेपछि अन्योलता बढेको हो ।

उपनिर्वाचनको समिक्षासँगै भ्रातृ संस्था तथा विभाग गठन लगायतकाबारे छलफल गर्न भन्दै कग्रेसले केन्द्रीय समिति बैठक बोलाएको थियो । तर पौडेल पक्षले महाधिवेशनको कार्यतालिका र विभाग गठनको विषयमा आफ्नो अडान राख्दै बैठक बहिस्कार गर्दै आएको छ ।

आन्तरिक विवाद चुलिँदै गएपछि सभापति देउवाले वार्ता समिति गठन गरि छलफललाई निरन्तरता दिएपनि सहमतिको संभावना न्युन देखिएको हो ।

यसैबीच, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूले भागबण्डाका लागि नभई न्यायका लागि पार्टीमा संर्घष गरेको बताएका छन् ।पछिल्लो समय केन्द्रिय कार्यसमिती बैठक बहिस्कार गर्दै आएका वरिष्ठ नेता पौडेलले आफ्नो लडाई बेतिथी अन्त्यका लागि मात्र भएको दाबी गरे ।

प्रतिक्रिया