बिहीबार, वैशाख १३, २०८१

सिमेन्टमा पुरानै मापदण्‍ड कार्यान्वयन गर्न लेखा समितिको निर्देशन

नेपालखोज २०७६ पुष ७ गते १४:२३

७ पुस, काठमाडौँ । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले सरकारले हालै कायम गरेको सिमेन्टको नयाँ मापदण्ड कार्यान्वयन तत्काल रोक्न निर्देशन दिएको छ । सोमबार उद्योग सचिव यमकुमारी खतिवडा र गुणस्तर विभागका महानिर्देशक विश्वबाबु पुडासैनीसँग सिमेन्टको मापदण्डबारे छलफल गरि समितिले यस्तो निर्देशन दिएको हो ।

गुणस्तर विभागले गत असार ८ गते सिमेन्टमा राखिने रासायनिक पदार्थको मापदण्ड परिवर्तन गर्ने निर्णय कार्यान्वयन गर्दा संरचना निर्माण हानिकारक हुने भन्दै समितिले पुरानै सिमेन्टको पुरानै गुणस्तर कार्यान्वयन गर्न निर्देशन दिएको समितिका सभापति भरत शाहले जानकारी दिए ।

गुणस्तर विभागले सिमेन्टमा राखिने म्याग्नेसियम अक्साइड र इन्‍सोल्युब रेसिड्यु नामको पदार्थको मात्रामा हेरफेर गर्ने निर्णय गरेको  थियो ।विभागले सिमेन्ट उद्योगलाई नयाँ मापदण्ड लागू गर्न पत्राचार गरिसकेको थियो । तर यसबारे समितिलाई भने जानकारी दिईएको थिएन ।

उद्योग सचिव यमकुमारी खतिवडाले भने अन्यथा नियत राखेर मापदण्ड परिवर्तन नगरेको बताइन् । उनले ३ वर्षदेखि प्राविधिक कमिटीसँगको छलफलपछि नयाँ मापदण्ड लागू गरिएको दावी गरिन् । तर समितिले यस विषयमा छलफल गर्ने र अहिलेलाई पहिलेकै मापदण्ड कार्यन्वयन गराउन निर्देशन दिएको छ ।

प्रतिक्रिया