बिहीबार, चैत १५, २०८०

रेल एक महिनाभित्रै जनकपुर आइपुग्ने पक्का

नेपालखोज २०७६ पुष ९ गते ७:०४

९ पुस, काठमाडौं । नेपालको राष्ट्रिय झन्डा अङ्कित आकर्षक रेल अबको एक महिनाभित्रै जनकपुर आइपुग्ने पक्का भएको छ । तर त्यो रेल कहाँ राख्ने, कहिलेबाट सञ्चालनमा ल्याउने, कसले चलाउने र टिकट कसले दिनेजस्ता पूर्वतयारी गर्न बाँकी छ ।

रेल आउने समय तय भए पनि रेल विभाग अहिले कर्मचारी व्यवस्थापनमै अल्झिइरहेको छ । रेल सञ्चालनका लागि कार्यालय सहयोगीदेखि व्यवस्थापक र साधारण प्राविधिकदेखि विशेषज्ञ इन्जिनियरसम्मको जनशक्ति आवश्यक छ ।

अहिलेसम्म कर्मचारी भर्ना तथा व्यवस्थापनका नाममा केही पनि काम अगाडि बढ्न सकेको छैन । जयनगर–जनकपुर खण्डमा चलाउन सरकारले सूर्य–चन्द्र झन्डा अङ्कित रेल खरिद गर्ने निर्णय गरेको थियो ।

पहिलो रेल सन् २०२० को जनवरीमा र अर्को रेल भने फेब्रुअरीभित्र आइपुग्ने जानकारी रेल विभागका प्रवक्ता अमन चित्रकारले दिए । नेपाल आउने रेलसेट अहिले भारतको चेन्नईमा निर्माणाधीन अवस्थामा छ । रेल विभागका महानिर्देशकसहितको टोलीले निर्माणाधीन रेलको निरीक्षण गरेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया