बुधबार, वैशाख २६, २०८१

अझै निर्माण सम्पन्न भएनन् प्रहरी चौकी

नेपालखोज २०७६ पुष ९ गते ८:४६

९ पुस, लमजुङ । जिल्लाको विकट दूधपोखरी गाउँपालिका–६ गौडामा नवनिर्मित भूकम्प प्रतिरोधी गौडा प्रहरी चौकी भवनको सञ्चालनमा आएको छ । नवनिर्मित प्रहरी भवनको गण्डकी प्रदेशका प्रहरी प्रमुख विनोद शर्मा घिमिरेले मङ्गलबार उद्घाटन गर्दै शान्ति सुरक्षा तथा सु–व्यवस्था कायम गराउन नेपाल प्रहरी दत्तचित्त रहेको बताए ।

प्रहरी चौकीको क्षेत्रफल तीन रोपनी चार आना रहेको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको आर्थिक सहयोगमा साढे दुईतले भवन रु एक करोड ४२ लाख ३५ हजार ८६१ लागतमा निर्माण भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायब उपरीक्षक रवीन्द्रमान गुरुङले जानकारी दिए । प्रहरी चौकीमा भान्सा, शौचालय, कार्यालयदेखि महिला–पुरुषका लागि फरक–फरक हिरासत निर्माण भएको छ ।

त्यस्तै क्व्होलासोथर गाउँपालिका–९ गिलुङ टक्सारमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको रु एक करोड ४७ लाख ६८ हजार ९८० लागतमा प्रहरी चौकी भवन निर्माण भएको छ ।

जिल्लामा अझै आधा दर्जन प्रहरी चौकीको आफ्नै भवन छैन । कतै सरकारी तथा विद्यालयका भवनमा त कतै घर भाडामा लिएर सेवा दिँदै आएको छ । प्रहरीको आफ्नै भवन नहुँदा सेवाप्रवाहमा समेत समस्या हुँदै आएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया