शनिबार, वैशाख १५, २०८१

प्रधानमन्त्रीबाट क्रिसमसको शुभकामना

नेपालखोज २०७६ पुष ९ गते १४:१९

९ पुस, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको स्वाधीनता, एकता तथा राष्ट्रिय अखण्डतालाई मजबुत बनाउँदै विकास र समृद्धिको अभियानमा जुट्न सबैलाई आह्वान गरेका छन् । इसाई धर्मावलम्बीको पर्व क्रिसमसका अवसरमा बुधबार (आज) शुभकामना सन्देश दिँदै उनले एकता र सहिष्णुताको पूँजीलाई समृद्ध देश निर्माणमा सदुपयोग गर्नुपर्नेमा जोड दिए ।

विभिन्न समुदायका धार्मिक तथा सांस्कृतिक आस्थालाई सम्मान गरी यहाँ विभिन्न भाषा, लिपि, संस्कृति, सभ्यता र सांस्कृतिक सम्पदाको संरक्षण हुँदै आएको उल्लेख गर्दै उनले विभिन्न जातजाति, धर्म र समुदायबीचको सम्बन्धलाई प्रगाढ तुल्याइने बताए।

‘‘विभिन्न धर्म र संस्कृतिमा आधारित यस्ता पर्वहरु हाम्रो राष्ट्रिय एकता, पारस्परिक सद्भाव र सहिष्णुताका मौलिक पहिचान हुन् ’’, उनले सन्देशमा भनेका छन्, ‘‘नेपालको संविधानले धार्मिक स्वतन्त्रता र भाषा तथा संस्कृतिसम्बन्धी विषयलाई मौलिक हकका रुपमा सुनिश्चित गरेको छ ।’’

सन्देशमा लोकतन्त्र, समाजिक न्याय, राष्ट्रिय एकता, स्वाधीनता, राष्ट्रिय अखण्डता र देशभक्तिलाई केन्द्रमा राख्दै अनुसरण गरिने अक्षुण्ण एकता, सद्भाव र सहिष्णुता हाम्रो राष्ट्रिय विशेषता रहेको उल्लेख गर्दै उनले बहुधार्मिक, बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषतायुक्त नेपालमा यस्ता विशेषता मौलिक पूँजीका रुपमा रहेको पनि बताए ।

प्रतिक्रिया