बुधबार, वैशाख ५, २०८१

जाडो बढेपछि कञ्चनपुरका सामुदायिक वनले आगो ताप्न दाउरा बाँड्दै

नेपालखोज २०७६ पुष १० गते ९:११

१० पुष, कञ्चनपुर । शीतलहरसँगै कठयाङग्रिने चिसो बढेपछि कञ्चनपुरका सामुदायिक वनहरुले आगो ताप्ने दाउरा बाँड्न थालेका छन् ।शुक्लाफाँटा नगरपालिकाका विभिन्न स्थानमा सामुदायिक वनहरुले आगो बालेर ताप्नका लागि दाउरा वितरण गरेका हुन्।

ह्वात्तै चिसो बढेपछि नागेश्वर सामुदायिक वनले नगरपालिकाको वडा–६ स्थित कसरौल, ५ को गर्जमुनि र वनसमिति बजारमा दाउराको व्यवस्था गरी आगो ताप्ने प्रबन्ध मिलाएको छ। यसैगरी, श्रीकृष्ण सामुदायिक वनले कलुवापुर बजारका ठाउ ठाउमा दाउराको व्यवस्था गरी आगो ताप्ने व्यवस्था गरेको छ ।

चिसोका कारण यात्रु, बालबालिका र वृद्धवृद्धाहरु बढी प्रभावित हुन थालेपछि आगो ताप्न दाउराको व्यवस्था गरिएको सामुदायिक वनका अध्यक्ष जय बहादुर ऐरले बताए । वन समूहहरुले आगो ताप्ने दाउरा वितरण गरेपछि विपन्न परिवारका सदस्यहरु, व्यापारी र बटुवाहरु लाभान्वित भएका छन्।

झलारी लगायतका अन्य बजार क्षेत्रमा पनि सामुायिक वनले दाउरा वितरण गर्ने तयारी थालेका छन्। पाँच दिन देखि कञ्चनपुरमा अत्यधिक चिसो बढेपछि यस क्षेत्रको जनजीवन निकै कष्टकर बनेको छ।

प्रतिक्रिया