शनिबार, वैशाख १५, २०८१

देशभरको तापक्रम घट्यो, काठमाण्डौको तापक्रम शून्य दशमलव ९ डिग्रीमा र्झयो

नेपालखोज २०७६ पुष १० गते ९:२०

१० पुष, काठमाण्डौ । (आज) बिहीबार काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँको तापक्रम घटेको छ । उत्तर–पश्चिम हिमालबाट चिसो हावा बहँदा धेरै ठाउँको तापक्रम घटेको मौसम पुर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । बुधबार राति आकाश खुलेसँगै काठमाण्डौसहित धेरै ठाउँको तापक्रम घटेको छ ।

बुधबारभन्दा झण्डै २ डिग्री सेल्सियस घटेर काठमाण्डौको बिहीबारको तापक्रम यो वर्षको अहिलेसम्मकै कम अर्थात् शून्य दशमलव ९ डिग्री सेल्सियसमा झरेको महाशाखाले जनाएको छ । यसअघि बिहान ६ बजे काठमाण्डौको तापक्रम १ डिग्री सेल्सियस मापन गरिएको थियो ।

बुधबार काठमाण्डौको न्यूनतम तापक्रम २ दशमलव ९ डिग्री सेल्सियस थियो । काठमाण्डौको बिहीबारको तापक्रम शून्य डिग्रीसम्म झर्न सक्ने महाशाखाले जनाएको छ । बिहीबार बिहान जुम्लाको तापक्रम माइनस ६ दशमलव ४ डिग्रीमा झरेको छ । गएको १ गते जुम्लाको तापक्रम यो वर्षकै कम माइनस ७ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको थियो ।

त्यस्तै बिहीबार बिहान डडेलधुराको तापक्रम २ डिग्री, विरेन्द्रनगरको २ दशमलव ७ डिग्री, ओखलढुङ्गाको तापक्रम ४ डिग्री र ताप्लेजुङको ४ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ । गएको २४ घण्टामा जोमसोमको तापक्रम माइनस ३ दशमलव ५ र जीरीको माइनस ३ दशमलव २ डिग्री सेल्सियसमा झरेको छ ।

प्रतिक्रिया