शुक्रबार, चैत १६, २०८०

नारायणगढ–मुग्लिन सडक थप दुईहप्ता दिउँसो बन्द हुने

नेपालखोज २०७६ पुष १२ गते १०:५८

१२ पुष, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको पहिरो रोकथामको काम नसकिएपछि थप दुईहप्ता दिउँसोमा सो सडक बन्द हुने भएको छ । आयोजनाले हिजो सूचना जारी गर्दै ढुङ्गा झार्ने र अन्य रोकथामका काम नसकिएको भन्दै थप दुई हप्ता सडक अवरुद्ध हुने जानकारी दिएको हो ।

गत मंसिर २७ गतेदेखि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गरी पहिरो नियन्त्रणको काम हुँदै आइरहेको छ । पुस २२ गतेसम्म दिउँसो सोही समयमा सडकखण्डमा सवारीसाधन रोकिने नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी शिव खनालले जानकारी दिनु भयो ।

दुई हप्ताभित्र पहिरो नियन्त्रणको काम सक्नेगरी काम थालेको भए पनि काम नसकिएपछि समयावधि थप गरिएको उहाँले बताउनु भयो । सो अवधिमा अत्यावश्यक सवारीसाधनलाई भने प्रवेश दिइने छ । नारायणगढबाट मुग्लिनतर्फ जाने यात्रुवाहक सवारीसाधन पन्ध्रकिलो र मालवाहक सवारीसाधन दासढुङ्गामा रोकिने छन् । यस्तै मुग्लिनबाट नारायणगढतर्फ आउने यात्रुवाहक सवारीसाधन मुग्लिन र बेनिटार तथा मालवाहक सवारीसाधन लेवाटार र आँबुखैरहनीमा रोकिने आयोजनाले जनाएको छ ।

प्रतिक्रिया