नेकपा सचिवालय बैठक बस्दै, एमसीसी र सभामुख चयनबारे छलफल हुने
१३ पुष, काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज (आइतबार) बिहान बस्दै छ । बिहान ९ बजे सुरु हुने बैठकमा अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) र संघीय संसदको सभामुख चयनबारे छलफल हुने नेकपा सचिवालयका एक सदस्यले नेपालखबरलाई जानकारी दिए ।
नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस संयोजक सूर्य थापाले बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्न सक्ने बताए । ‘तर फिक्स भएको छैन,’ उनले भने ।
सचिवालय सदस्य वामदेव गौतमले भने बालुवाटारमै बैठक बस्ने र आफू त्यतै गइरहेको जानकारी दिए । यसअघि नेकपाका अर्का अध्यक्ष प्रचण्डले सचिवालय बैठक र स्थायी समितिका बैठक पार्टी कार्यालय धुम्बाराहीमा राखेका थिए । एमसीसी अनुमोदन गर्ने कि नगर्ने भन्ने विषयमा नेकपाभित्रै मतभेद छ ।
यस्तै तत्कालीन सभामुख कृष्णबहादुर महरा बलात्कार प्रयास अभियोगमा पक्राउ परेपछि सभामुखको उम्मेदवार कसलाई बनाउने भन्ने विषयमा पनि नेकपा निष्कर्षमा पुग्न सकेको छैन ।
प्रतिक्रिया