शनिबार, वैशाख २९, २०८१

विदेश भ्रमण र अध्ययनका लागि ४ महिनामै ३७ अर्ब ९७ करोड बाहिरियो

नेपालखोज २०७६ पुष १४ गते ६:५०

१४ पुस, काठमाडौं । रेमिट्यान्सले धानिएको मुलुकका नागरिकले विभिन्न देश घुमघाम गर्दा र उच्च शिक्षा अध्ययनकै क्रममा ३७ अर्ब ९७ करोड रुपैयाँ बाहिरिएको छ भन्ने सुन्दा अपत्यारिलो लाग्न सक्छ । तर, यस्तो वास्तविकता नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकले सत्य साबित गरेको हो ।

नेपाल भ्रमण वर्ष २०२० को माहोल अत्यधिक बढिरहेको सरकारी दाबी आइरहँदा विदेशबाट आउने पर्यटकले यहाँ गर्ने खर्चभन्दा बाहिर जाने रकम अत्यधिक रहेको देखिएको छ । यस्तै, विदेशमा अध्ययनकै लागि भन्दै अर्बौं रुपैयाँ बाहिरिने क्रममा पनि कुनै कमी आएको छैन ।

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७६/७७ को चार महिना मंसिरअघिसम्म गरेको आर्थिक तथा वित्तीय प्रतिवेदनको तथ्यांकले सो अवधिमा कुल ३७ अर्ब ९७ करोड रुपैयाँ बाहिरिएको देखाएको हो ।

राष्ट्र बैंकको तथ्यांकअनुसार सो अवधिमा नेपालबाट विभिन्न मुलुकमा (आउट बोन) पर्यटकीय भ्रमणलगायत अन्य भ्रमणकै लागि जानेहरूबाट मात्र २५ अर्ब ८० करोड रुपैयाँ बाहिरिएको छ ।

हाल नेपालीहरूको थाइल्यान्ड, सिंगापुर, मलेसिया, इन्डोनेसिया र युरोपलगायत देशमा टुर प्याकेज नै बनाएर भ्रमण गर्ने क्रम बढेको छ । जसका कारण नेपालबाट यति छोटो समयमै २५ अर्ब ८० करोड रुपैयाँ बाहिरिएको हो । यो खबर आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया